झण्डै ‘बर्फी’ बाट निकालिएको थिएँ : भोलाराज सापकोटा



नेपाली चलचित्रका व्यस्त कलाकार बलिउड उद्योगमा पनि आफ्नो उपस्थिति जनाइसकेका छन् । उनले चलचित्र ‘बर्फी’ बाट बलिउड प्रवेश गरेका थिए । यसमा अभिनेता रणवीर कपूर प्रमुख भूमिकामा थिए । भोलाराज उनको साथीको भूमिकामा थिए । यो चलचित्रमा उनको भूमिका र अभिनय निकै रुचाइयो । तर, यसपछि उनले बलिउड फिल्ममा निरन्तरता दिन सकेनन् ।

‘बर्फी’ पछि घरायसी कारणले नेपाल फर्किएँ । पछि म मुम्बई गएको पनि थिएँ । सौरभ शुक्लाको स्क्रिप्टमा चलचित्र ‘यात्रा’ गर्ने पक्कापक्की भएको थियो । तर, विभिन्न कारणले त्यो चलचित्र बनेन । गत वर्ष एउटा चलचित्र गर्ने फाइनल भएको थियो । यो चलचित्र चाहिँ यसै वर्षबाट सुरु हुन्छ होला,’ उनले भने । उनी नेपाली र बलिउड दुवै उद्योगमा आफूलाई भिजाउने सोचमा छन् ।

‘बर्फी’ मा काम गर्दाका क्षणहरु उनको मनस्पटलमा सधैं घुमिरहन्छन् । चलचित्रको एक सिनमा संवाद बोल्न नसक्दा सौरभ शुक्लाले अर्को कलाकार लिन निर्देशक अनुराग बसुलाई गरेको आग्रह उनले विर्सेका छैनन् । ‘म, सौरभ शुक्ला र रणवीर कपूरको एक सिन थियो चौकीमा । त्यो सिनमा मैले संवाद बोल्न नसक्दा सौरभ शुक्लाले अर्को कलाकार राख्न भन्नुभएको थियो,’ उनी सम्झन्छन् ।

आफूले संवाद बोल्न नसकेपछि रणवीरले सहजीकरणको भूमिका खेलेको उनी स्मरण गर्छन् । ‘त्यसबेला रणवीरले सहजीकरण नगरेको भए जे पनि हुन्थ्यो । चलचित्रबाटै हट्न सक्थेँ । उहाँले निर्देशकसँग एकछिन समय मागेर मसँग रिहर्सल गर्नुभयो । हामीबीच गफगाफ भयो । पछि त्यो सिन मैले सजिलै गरेँ,’ उनले भने । उनी रणवीरबाट आफूले धेरै कुरा सिक्न पाएको बताउँछन् ।

उनलाई सुरुमा रणवीरसँग बोल्न पनि अप्ठ्यारो लागेको रहेछ । उनी भन्छन्, ‘बलिउडको स्टार कलाकार । राम्रोसँग चिनजान पनि भएको थिएन । सुरुमा त उहाँको अगाडि जान पनि अप्ठ्यारो लाग्यो । तर, पछि राम्रोसँग बोलीचाली भएपछि गाह्रो भएन ।’ उनी रणवीरलाई घमण्ड नभएको कलाकारको रुपमा चित्रित गर्छन् । नेपालीलाई हेर्ने नजर पनि राम्रो रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu