प्रधानमन्त्रीलाई गौरी मल्लको प्रश्न



कोरोनाका कारण गरिएको लकडाउनका कारण रोजगारी गुमेपछि भारतबाट आएका नेपाली पुनः भारत जान थालेका छन् । भारतमा कोरोना संक्रमण दर नघटे पनि खान–बस्न समस्या हुन थालेपछि उनीहरू भारततर्फ लागेका हुन् । भोकै मर्नुभन्दा महामारीसँग लड्दै काम गर्न भारत जानु बाध्यता भएको उनीहरुको गुनासो छ । यतिबेला नेपालमा भन्दा भारतमा कोरोनाको भयावह स्थिति छ ।

अभिनेत्री गौरी मल्लले रोजगारीका लागि ज्यान जोखिममा राखेर भारत फर्किन थालेका नेपालीलाई सरकारको अनुभूति दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् । उनले मंगलवार फेसबुकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै लेखेकी छन्, ‘हिजो भारतबाट कोरोना नेपाल आएको भन्ने मुखले आज आफ्ना नागरिकहरुलाई ‘ए मेरा प्यारा नेपाली नागरिकहरु, भारतमा कोरोनाको प्रकोप बढ्दो छ, नेपालमा बस जे गर्न पर्छ हामी गर्छौं’ भनेर किन भन्न सकिरहेको छैन ? सम्माननीय प्रधानमन्त्रीज्यू यो मेरो प्रश्न यहाँलाई नै हो ।’

उनी अगाडि लेख्छिन्, ‘कोरोनाको प्रकोपसँगै नेपालले आफ्ना नागरिक एकत्रित गर्ने मौका पायो, नेपालमै रोजगारी उन्मुख कार्य गर्ने समय आयो भन्ने सबैलाई लागेको थियो तर यी सब कुराहरुसँग सरकारलाई कुनै सरोकार नै रहेन छ भन्ने कुरा स्पष्ट देखियो ।’ प्रधानमन्त्रीलाई आफूले बोलेका वक्तब्य रमाइलो गर्ने माध्यम भइरहे पनि सर्वसाधारणलाई लज्जाबोध भएको उनको भनाई छ ।

उनले ठूलो विश्वास गरेर देशको शिर्षस्थानमा राखेको व्यक्ति गर्वको पात्र बनेको हेर्न चाहेको भए पनि आफ्नो जीवनमा त्यो दिन नआउने बताएकी छन् । उनले अगाडि लेखेकी छन्, ‘पहिला आफ्नो देश र जनताको अवस्था सुधार्नु पर्‍यो । सानातिनाजस्तो हुन्छ रोजगार दिन तर्फ लाग्नु पर्‍यो । नागरिकको दुख, समस्या, विपद्, बेरोजगारीले निम्त्याएको मानसिक अवस्थासँग भिज्नु पर्‍यो ।’

उनले देशलाई घर र जनतालाई परिवार ठान्न प्रधानमन्त्रीलाई आग्रह गरेकी छन् । प्रधानमन्त्रीलाई सुझाव दिँदै उनले थपेकी छन्, ‘आफ्नो परिवार छाडेर पलायन हुने रहर कसैलाई हुँदैन तर आज तपाईंका जनता जानीजानी आगोमा होमिन जाँदैछन्, उनीहरुको जीवनको रक्षा गर्ने कर्तव्य पनि तपाईंकै हो । सिंहदरबार र वालुवाटारभन्दा बाहिर पनि नेपाल छ यो कुरा नबिर्सि कार्य गर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu