अरुण थापाको बायोपिकमा हुन सकेन प्रदीप र दिनेशको सहकार्य



अहिलेका हटकेक अभिनेता प्रदीप खड्का र लभस्टोरी चलचित्र बनाउन सिपालु मनिने निर्देशक दिनेश राउतबीच नयाँ चलचित्रका लागि टिमअप भएको छ । यसअघि स्वर्गीय गायक अरुण थापाको बायोपिकमा उनीहरुले काम गर्न लागेको चर्चा चलेको थियो । तर, अरुण थापाको भूमिकामा प्रदीप नसुहाउने भन्दै मगर संघलगायतले विरोध जनाएपछि यो चलचित्रको निर्माण पछाडि धकेलिएको छ ।

अरुण थापाको बायोपिक र प्रदीपसँग सहकार्य भएको चलचित्रको बारेमा जानकारी दिँदै निर्देशक राउतले भने- ‘अरुण थापाको बायोपिकमा प्रदीप हुने भन्ने कुरामा सत्य थिएन । ऊसँग स्क्रिप्टमा छलफल हुने क्रममा त्यस विषयमा कुराकानी चाहिँ भएको थियो । अब यो चलचित्र तत्काललाई पछाडि सारेको छु । प्रदीपसँग गर्ने भनिएको चलचित्र सामाजिक विषयवस्तुमा आधारित हुनेछ ।’

नाम तय नभइसकेको चलचित्रमा प्रदीप खड्काले २० लाख पारिश्रमिक बुझेको चर्चा छ । तर, यसमा कुनै सत्यता नभएको निर्देशक राउत बताउँछन् । ‘आपसी सहमतिमा भएको कुरा बाहिर ल्याउन आवश्यक छ जस्तो मलाई लाग्दैन । कोरोना भाइरसले सिर्जना गरेको यो विषम परिस्थितिमा प्रदीपले पारिश्रमिक कम गरेको भने छ । यस विषयमा प्रदीपलाई नै सोध्नुहोला,’ उनले भने ।

प्रदीप पनि चलचित्रमा आफूले बुझेको भन्ने पारिश्रमिकमा एक प्रतिशत पनि सत्यता नभएको दाबी गर्छन् । उनी भन्छन्, ‘मैले पारिश्रमिकका लागि फिल्म गर्न लागेको होइन । तर, जति पारिश्रमिक मैले बुझेको भन्ने सुनेँ, त्यसमा सत्यता छैन ।’ उनी चलचित्रलाई लिएर आफू निकै उत्साहित रहेको बताउँछन् । चलचित्रमा प्रदीपले गाउँले युवकको भूमिका निर्वाह गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu