मिलन चाम्सले चार श्रृंखलामा ‘गोर्खा वारियर’ बनाउने



लगालग चलचित्र निर्माण गर्दै आएका निर्देशक मिलन चाम्सले लकडाउनभन्दा अगाडि चलचित्र ‘गोर्खा वारियर’ घोषणा गरेका थिए । २०२० मा छायांकन सुरु गरेर २०२१ मा प्रदर्शन गर्ने उनको तयारी थियो । तर, कोरोनाका कारण चलचित्र फ्लोरमा जान सकेको छैन । चलचित्रमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, विजय लामा, वुद्दि तामाङलगायतको अभिनय रहनेछ ।

लकडाउन खुकुलो भएपछि निर्देशक चाम्स नयाँ चलचित्रका लागि लोकेशन खोज्न विभिन्न ठाउँ पुगे । उनले कोरोनाका कारण ठप्प रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन सानो बजेटमा चलचित्र बनाउन लागेको जानकारी दिएका थिए । तर, अहिले उनको बोली फेरिएको छ । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले ‘गोर्खा वारियर २’ का लागि लोकेशन खोज्न गएको बताएका छन् ।

निर्देशक चाम्सले भनेका छन्, ‘यो चलचित्रको छायांकन मलेशियामा हुने हो । तर, केही भाग मलेशियाको नेपालमा चिट गरेर खिँदैछौं । त्यसैका लागि लोकेशन हेर्न गएका थियौं ।’ कोरानाका कारण ‘गोर्खा वारियर’ को छायांकन तत्काल सम्भव नभएपछि लकडाउनमा दोस्रो पार्टको स्क्रिप्ट लेखिसकेको र तेस्रो-चौथो पार्टको पनि स्क्रिप्ट तयार भइसकेको उनले बताएका छन् ।

‘गोर्खा वारियर’ को चार श्रृंखलासम्म बन्ने तर सिक्वेल भने नरहेको उनी बताउँछन् । ‘गोर्खालीहरुको सयौं कथा छ । त्यसमध्येको केही कथा चार श्रृंखलामा देख्न पाइनेछ,’ निर्देशक चाम्सले भनेका छन् । उनले ‘गोर्खा वारियर’ लाई आफ्नो ड्रिम प्रोजेक्ट भनेका छन् । चलचित्रमा २० करोडभन्दा बढी लगानी हुने उनको भनाई छ । तर, कोरोनाका कारण चलचित्रको छायांकन अन्योलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu