राजेश हमालले गरे ११३ जना प्राविधिकलाई सहयोग



कोरोना भाइरसका कारण विगत ६ महिनादेखि चलचित्र निर्माण ठप्प हुँदा रोजीरोटी गुमेर दैनिक जीवनयापन गर्न समस्या भएका प्राविधिकहरुलाई अभिनेता राजेश हमालले आर्थिक सहयोग गरेका छन् । शनिवार डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा उनले १ सय १३ जना आर्थिक अवस्था कमजोर रहेका प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारको दरले सहयोग हस्तान्तरण गरेका हुन् ।

अभिनेता राजेश हमालले विभिन्न व्यक्तिसँगको सहयोगमा प्राविधिकलाई आर्थिक सहयोग गरेका हुन् । प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले १ सय १३ जना प्राविधिकलाई राजेश हमालले ५ लाख ६५ हजार सहयोग गरेको जानकारी दिए । कोरोनाका कारण जीवनयापन गर्न समस्या भएको अवस्थामा अभिनेता हमालबाट प्राप्त सहयोगले ठूलो राहत मिलेको प्राविधिकहरुले बताएका छन् ।

कोरोनाका कारण सिर्जना भएको असामान्य परिस्थितिमा प्राविधिकहरुलाई ठूलो प्रभाव परेको अभिनेता हमालको भनाई छ । प्राविधिकलाई नेपाली चलचित्रको मेरुदण्डको रुपमा ब्याख्या गर्दै उनले भने- ‘उहाँहरु पर्दा पछाडि देखिनु हुन्छ । हामी पर्दा अगाडि देखिएर नाम कमाउँछौं । तर, त्यस पछाडिको जनशक्ति कसैले देख्दैन । तर, हामीले उहाँहरुकै बुइ चढेर नाम कमाउँछौं ।’

उनले कोरोनाका कारण परिस्थिति अनुकूल नहुँदा आफूले चाहे जति सहयोग प्राविधिकहरुलाई गर्न नसकेको बताएका छन् । यो सहयोग ठूलो नभए पनि केही दिन जीवन चलाउन सहज हुने उनको विश्वास छ । यो आफ्नो सानो प्रयास रहेको र कोरोनाले सिर्जना गरेको स्थिति सामान्य नभएको अवस्थामा प्राविधिकहरुलाई अरु पनि सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu