सिताराम कट्टेल : कलाकारिता हुँदै समाज सेवा



चर्चित हाँस्य कलाकार सिताराम कट्टेल आइतवार आफ्नो ३७औं जन्मदिन मनाउँदैछन् । बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो सन्तानको रुपमा वि.सं २०४० साल असोज ४ गते सोलुखुम्बुमा जन्मिएका उनी डेढ वर्षदेखि चितवनमा निर्माणाधिन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा व्यस्त छन् । उनको सक्रियतामा तीन ठाउँमा एकिकृत बस्ती समेत निर्माण भइसकेको छ ।

पिताले थमाएको १७ सय बोकेर कलाकार बन्न राजधानी झिरेका सितारामले आज जुन ‘नेम र फ्रेम’ कमाएका छन्, त्यस पछाडिको संघर्ष कहालीलाग्दो छ । दशक अगाडि हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा ‘धुर्मुस’ को चरित्र निर्वाह गरेपछि उनी चर्चामा आएका थिए । उनलाई आजका दिनमा पनि वास्तविक नामले भन्दा ‘धुर्मुस’ उपनामबाट दर्शकहरुले चिन्ने गरेका छन् ।

२०७२ सालमा गएको भूकम्पपछि सामाजिक अभियान्ता बनेका सितारामले त्यसयता हाँस्य सिरियलमा अभिनय गरेका छैनन् । यद्यपि, उनले चितवनमा रंगशाला निर्माण भइरहँदा चलचित्र ‘सेन्टी भाइरस’ बनाएका थिए । चलचित्रमा उनी र उनकी श्रीमती कुञ्जना घिमिरे प्रमुख भूमिकामा थिए । तर, कमजोर कथावस्तु र प्रस्तुतिका कारण चलचित्र बक्सअफिसमा लामो रेसको घोडा बन्न सकेन ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको चलचित्र ‘वडा नम्बर ६ र ६ एकान ६’ मा अभिनय गरिसकेका सिताराम रंगशाला निर्माण भएपछि नयाँ चलचित्र बनाउने सोचमा छन् । अहिले भने उनको तन-मन सबै क्रिकेट रंगशालामा छ । रंगशाला निर्माण गरेर सबै नेपालीको मुहारमा खुसी छर्ने सपना रहेको र त्यसका लागि आफूहरुले मिहेनत गरिरहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu