चलचित्र क्षेत्र खोल्न ‘सीसीएमसी’ सकारात्मक



सरकारले असोज पहिलो हप्ताबाट भीडभाड हुने सवारी साधन, हवाई उडानलगायत विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिएको छ । तर, चलचित्र क्षेत्र खोल्ने विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन । जसले गर्दा चलचित्रकर्मीहरु निराश भएका छन् । दशैंसम्म चलचित्र प्रदर्शनको वातावरण बनाउन अहिले नेपाली चलचित्रसँग आबद्ध संघ संस्थाहरुले पहल गरिरहेका छन् ।

यसबीच, चलचित्र विकास बोर्ड, नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघका अध्यक्षहरुले बुधवार कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को टिमसँग भेट गरेर चलचित्र निर्माण र प्रदर्शनको अनुमति दिन आग्रह गरेका छन् । यो विषयमा ‘सीसीएमसी’ सकारात्मक रहेको तर अहिले नै कुनै निर्णय नभएको निर्माता संघका अध्यक्ष आकाश अधिकारील जानकारी दिए ।

उनले भने- ‘चलचित्र क्षेत्र सञ्चालन गर्न ‘सीसीएमसी’ सकारात्मक देखिएको छ । सरकारबाट अनुमति पाएपछि सिनेमा हल खोल्न, चलचित्र निर्माण र प्रदर्शन गर्न हामी तयार छौं भनेर जानकारी गराएका छौं । उहाँहरुले यस विषयमा छलफल गर्छौं भनेर भन्नुभएको छ । चाँडै खुसीको खबर सुन्ने पाइनेमा आशावादी छौं । अब सावधानीपूर्वक चलचित्र क्षेत्रलाई गति दिनुपर्ने समय आएको छ ।’

चलचित्रकर्मीले दबाब दिन नसकेका कारण सरकार चलचित्र क्षेत्र खोल्न गम्भीर नदेखिएको भन्ने टिप्पणीका बारेमा उनी भन्छन्, ‘दबाब दिएर मात्र समस्याको समाधान हुँदैन । हवाई उडानमा जस्तो चलचित्र हेर्न आउनेलाई पिसिआर रिपोर्ट लिएर आउनुस् भन्न मिल्दैन । भोली कम दर्शकमा सिनेमा हल चलाउन सकिन्छ कि सकिन्न त्यो पनि हेर्नुपर्छ । तर, चलचित्र क्षेत्र खोल्ने बेला भने आएको छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu