चलचित्रकर्मी विपद् व्यवस्थापन कोष गठन
समस्यामा रहेको चलचित्रकर्मीलाई सहयोग गर्न चलचित्रकर्मी विपद् व्यवस्थापन कोष कार्यविधि निर्धारण समिति गठन भएको छ । चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनको संयोजकत्वमा गठित समितिको सदस्यमा मोहन निरौला, छवि ओझा, किशन पोखरेल, अर्जुन कुमार पोखरेल, राजेन्द्र उप्रेती, राजाराम गौतम, अमृत सुनुवार, जनक कार्की, देवेन्द्र खड्गीलगायत छन् ।

विपद् व्यवस्थापन कोष समितिले कार्यविधि निर्माण गरेर लागू गर्न चलचित्र विकास बोर्डमा बुझाइसकेको छ । विपद्मा परेका चलचित्रकर्मीलाई कोषले सहयोग गर्ने कार्यविधिमा उल्लेख छ । कोषको कार्यविधि निर्माण समितिले बाढी पहिरो, आगलागी, भूकम्प, आँधीबेरी, सरुवा रोगको महामारी, प्राकृतिक कारणले हुने दुर्घटना जस्ता दैवी प्रकोपलाई विपद् भनेर ब्याख्या गरेको छ ।
विपद्मा परेका चलचित्रकर्मीलाई राहतको व्यवस्था तथा समस्याहरुको समाधान गर्नका लागि कोष खडा गरिएको संयोजक नरेन्द्र महर्जनले बताए । यो कोषलाई कार्यविधि अनुसार सञ्चालन गर्न चलचित्र विकास बोर्डले स्विकृति दिनुपर्ने हुन्छ । बोर्डले स्विकृति दिएपछि समिति फेरबदल गरेर चलचित्रकर्मी विपद् व्यवस्थापन कोषको कार्यविधिलाई कार्यन्वयनमा ल्याइने महर्जनको भनाई छ ।