दिनेशको रोजाइ बन्दै प्रदीप



मनछुने प्रेमकथामा चलचित्र बनाउन सिपालु मानिने निर्देशक दिनेश राउतले पहिलो पटक चकलेटी अभिनेता प्रदीप खड्कालाई लिएर नयाँ चलचित्र बनाउँदैछन् । सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रमा प्रदीपले गाउँले युवकको भूमिका निर्वाह गर्दैछन् । पहिलो पटक दिनेश र प्रदीपबीच टिमअप भएका कारण दर्शकमाझ यो चलचित्र निर्माण नहुँदै प्रतिक्षीत बनेको छ ।

प्रदीपले पहिलादेखि नै दिनेशसँँग काम गर्न चाहेका थिए । चलचित्र ‘भैरवी’ मा उनीहरुबीच टिमअप पनि भएको थियो । तर, विविध कारणले यो चलचित्र निर्माण भएन । लकडाउनमा प्रदीप आफैं एक चलचित्रको प्रस्ताव लिएर दिनेशसामु पुगेका थिए । नयाँ चलचित्रमा प्रदीपसँग सहकार्य गर्न तयार भएपछि निर्देशक राउतले साइन गरिसकेको चलचित्र ‘मेरो एउटा साथी छ २’ समेत छाडेका छन् ।

सहकार्यको हात मिलाएपछि अहिले दिनेश र प्रदीप एकअर्कासँग निकै नजिक भएका छन् । चलचित्रमा सँगै काम गर्ने सहमति पश्चात् उनीहरुबीच दिनहुँ भेटघाट हुने गरेको छ । यसबीच, निर्देशक राउतले चलचित्रभन्दा अगाडि प्रदीपलाई लिएर सोमवार प्रभु बैंकको एक विज्ञापन तयार पारेका छन् । अरु पनि प्रोजेक्टमा उनीहरुबीच सहमति भएको गोप्य स्रोतले जानकारी दिएको छ ।

कुनै समय दिनेश राउत अभिनेता आर्यन सिग्देलसँग नजिक थिए । उनी आफ्ना हरेक चलचित्रमा आर्यनलाई रोज्थे । उनले निर्देशन गरेका तीन चलचित्र ‘आई एम सरी, नोभेम्बर रेन र क्लासिक’ मा आर्यनको मुख्य भूमिका छ । ‘क्लासिक’ पछि उनीहरु अर्को चलचित्र पनि सँगै गर्दै थिए । तर, आपसी मतभेदका कारण उनीहरुको सहकार्य टुट्यो, जुन अहिलेसम्म गाँसिन सकेको छैन ।

तीन चलचित्रमा सहकार्य भएपछि दिनेशले आर्यनलाई च्यापेर हिँडेको भन्दै चलचित्र क्षेत्रमा चर्चा चलेको थियो । तर, आर्यनसँग सहकार्य टुटेपछि राउतले अभिनेत्रीमा नम्रता श्रेष्ठको साथ नछाडे पनि हिरोमा कसैलाई च्यापेर हिँडेका थिएनन् । अब उनले प्रदीपलाई च्याप्न थालेको चर्चा चल्न थालेको छ । चलचित्रसँगै विज्ञापनमा पनि उनले प्रदीपलाई रोज्नुले यसप्रकारको चर्चा चल्नु सामान्य हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu