निर्माताले मागे चलचित्र रिलिज गर्न ‘एमजी’



७ महिनादेखि ठप्प रहेको नेपाली चलचित्र क्षेत्र खुल्ला गर्ने तयारीमा सरकार जुटेको छ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटीको निर्देशक समितिले मंगलवार बन्द रहेका क्षेत्रहरु सञ्चालन गर्ने सम्बन्धमा प्रस्ताव ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । प्राप्त जानकारी अनुसार, सरकारले नेपाली चलचित्र क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउनका लागि मापदण्ड बनाएको छ ।

सरकारले ७ महिनादेखि बन्द रहेको चलचित्र क्षेत्र खोल्ने तयारी गरेपछि चलचित्रकर्मीमा खुसीयाली छाएको छ । थुप्रै निर्माताहरु नयाँ चलचित्र निर्माणको तयारीमा जुटेका छन् । तर, निर्माण भइसकेका चलचित्रका निर्मातालाई भने हर्ष न विस्मात छ । उनीहरु सिनेमा हल सञ्चालनमा आए पनि चलचित्र प्रदर्शन गर्न तयार छैनन् । करोडौंको लगानीमा जुवा खेल्न नसक्ने उनीहरुको भनाई छ ।

कोरोनाका कारण प्रदर्शन रोकिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापा वितरक र हल सञ्चालकले एमजी दिएको अवस्थामा मात्र चलचित्र प्रदर्शन गर्न सकिने बताउँछन् । उनी भन्छन्, ‘अहिले सर्वत्र कोरोनाको सन्त्रास छ । स्वास्थ्यलाई जोखिममा राखेर दर्शक चलचित्र हेर्न आउँछन् भन्ने लाग्दैन । यो अवस्थामा करोडौंको चलचित्र रिलिज गर्न सकिन्न ।’

पुराना चलचित्र रिलिज गरेर हलमा दर्शक नआउने बताउँदै सुदर्शनले भने- ‘अब चलचित्र क्षेत्रलाई चलायमान बनाउने बेला आएको छ । यसका लागि वितरक र हल सञ्चालकले मिलेर एमजी दिएको अवस्थामा चलचित्र प्रदर्शन गर्न सकिन्छ । नभए, करोडौंमा बनेको चलचित्र सिनेमा हल खुल्ने वितिक्कै प्रदर्शन गर्न सकिन्न ।’ उनी स्थिति सामान्य भएपछि मात्र चलचित्र प्रदर्शन गर्ने सोचमा छन् ।

निर्देशक थापाको भनाईमा निर्माता सन्तोष सेन पनि सहमत छन् । वितरक र हल सञ्चालकले एमजी दिन तयार भए आफू चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शन गर्न तयार रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘देशभर सयौं हल छन् । ती हलहरुले १ वा २ लाख दिने हो र वितरकले एमजी दिने हो भने म चलचित्र प्रदर्शन गर्न तयार छु । आफैंले रिक्स मोलेर चाहिँ चलचित्र रिलिज गर्दिनँ । बरु, कुर्छु ।’

चलचित्र विकास बोर्डले प्रचारमा २/४ प्रतिशत सहयोग गरेको भरमा चलचित्र प्रदर्शनका लागि जोखिम मोल्न नसकिने उनको भनाई छ । सामाजिक दूरी कायम गरेर चलचित्र प्रदर्शन गर्न असम्भव रहेको उल्लेख गर्दै उनले भने- ‘वितरक र हल सञ्चालकले एमजी दिन तयार हुँदैनन् भने स्थिति सामान्य भएपछि मात्र चलचित्र प्रदर्शन गर्नेछौं । हल खोल्ने वितिक्कै चलचित्र प्रदर्शन गर्न सकिन्न ।’

‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमार पनि अहिलेको अवस्थामा चलचित्र रिलिज गर्न नसकिने बताउँछन् । आफूले पैसा कमाउन चलचित्र बनाएको बताउँदै उनले भने- ‘अहिले स्वास्थ्यभन्दा ठूलो चलचित्र होइन । अहिले चलचित्र चलाएर हेर्न को जान्छ ? हामीले दर्शकको स्वास्थ्यलाई पनि ध्यान गर्नुपर्छ । हलिउड र बलिउडलाई चलचित्र प्रदर्शन गर्न हतार भएको छैन, हामीलाई किन हतार ?’

उनले आफू तत्काल चलचित्र क्षेत्र खोल्नु पर्छ भन्ने पक्षमा नभएको पनि बताएका छन् । अहिले हल खोल्नुको औचित्य नभएको उनको तर्क छ । ‘नेपाली चलचित्रले हल चल्दैन । यसका लागि विदेश चलचित्र नै चल्नुपर्छ,’ उनी भन्छन्, ‘केही व्यक्ति फेसबुकमा दर्शकलाई मनोरञ्जन चाहिन्छ भनेर कुर्लिएको भरमा म चाहिँ चलचित्र रिलिज गर्दिनँ । स्थिति सामान्य भएपछि मात्र चलचित्र रिलिज गर्छु ।’

कोरोनाका कारण प्रदर्शन रोकिएको अर्को चलचित्र ‘हिजो आजका कुरा’ का निर्देशक साकार पन्त पनि अहिले चलचित्र प्रदर्शन गर्नु भनेको आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्नु रहेको बताउँछन् । आफू पर्ख र हेरको अवस्थामा रहेको बताउँदै उनले भने- ‘संक्रमण भयावह रुपमा फैलिरहेको छ । यो अवस्थामा दर्शक हलमा आउँदैनन् र हलमा आएर चलचित्र हेर्न आग्रह गर्न पनि सकिन्न ।’

कोरोना महामारीको समयमा हलमा दर्शक आउने वातावरण नबनाउनु नै राम्रो हुने उनको सुझाव छ । ‘लक्का जवान, नीरफूल, जारी’ लगायतका चलचित्रका निर्माता पनि सिनेमा हल सञ्चालनमा आउन साथ चलचित्र प्रदर्शन गर्न तयार छैनन् । दर्शकलाई हलसम्म ल्याउने ल्याकत भएका आशातित चलचित्र नै प्रदर्शन गर्न निर्माताहरु तयार नहुँदा चलचित्र क्षेत्रमा थप अन्योलको अवस्था सृजना भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu