दिवंगत केशव भट्टाराईको परिवारलाई ३३ लाख हस्तान्तरण
गत वर्षको मंसिरमा हृदयघातका कारण निधन भएका नेपाली चलचित्रका चम्किला नक्षत्र केशव भट्टराईले तुलसी घिमिरे निर्देशित चलचित्र ‘कोशेली’ बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । उनले आफ्नो अभिनय करिअरमा २ सयभन्दा बढी चलचित्रमा काम गरेका छन् । चलचित्र विकास बोर्डको अध्यक्ष रहँदा निधन भएका उनी त्यसअघि नेपाल विद्युत प्राधिकरणमा कार्यरत थिए ।
केही सफल चलचित्रको निर्माण समेत गरेका भट्टराईले चलचित्र ‘आफ्नो मान्छे’ को कमाईबाट काठमाडौंको अनामनगरमा घर किनेका थिए । तर, ‘सो सिम्पल’ चलचित्र असफल भएपछि उनी ऋणमा डुबे । जसका कारण उनले घर नै बेच्नुपर्यो । यसपछि उनी अनामनगरमै फ्ल्याट भाडामा लिएर बस्न थालेका थिए । अहिले उनका श्रीमती र छोरा भाडाको कोठामा बस्दै आएका छन् ।

उनले परिवारका लागि भनेर सिनामंगलमा बैंकसँग लोन लिएर एउटा अपार्टमेन्ट किनेका थिए । तर, त्यहाँ सर्न नपाउँदै उनी अस्ताए । उक्त अपार्टमेन्टको लोन तिर्ने उद्देश्यले चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको अध्यक्षतामा गठन भएको ‘केशव भट्टराई परिवार सहयोग समिति’ ले स्वर्गीय भट्टराईकी श्रीमती नीता भट्टराईलाई संकलित रकम हस्तान्तरण गरेको छ ।
बुधवार चलचित्र विकास बोर्डको सभा हलमा अमेरिका, अस्ट्रेलिया, बेल्जियम, दुबईलगायतका देशहरुमा बस्ने नेपाली चलचित्रकर्मीले समितिलाई पठाएको कूल ३३ लाख ३७ हजार स्वर्गीय भट्टराईको परिवारलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा राजकुमार राई, दयाराम दाहाल र नीर शाहले केशव भट्टराईलाई सम्झिँदा स्वर्गीय भट्टराईकी श्रीमती नीताका आँखा रसाएका थिए ।