यसै वर्ष बिहे गर्दै काजल अग्रवाल
साउथ चलचित्रकी चर्चित अभिनेत्री अभिनेत्री काजल अग्रवालले यसै वर्ष (२०२०) विवाह गर्ने भएकी छन् । उनी स्वयंले मंगलवार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूले विजनेशम्यान गौतम किचलूसँग विवाह गर्न लागेको जानकारी दिएकी छन् । उनले विवाहको मिति पनि सार्वजनिक गरेकी छन् । उनका अनुसार, आउँदो ३० अक्टोबरका लागि विवाहको मिति तय गरिएको छ ।

कोरोनाका कारण विवाह समारोहमा दुई पक्षका परिवारका सदस्यको मात्र उपस्थिति रहनेछ । विवाहको बारेमा जानकारी दिँदै उनले भनेकी छन्, ‘यो महामारीले हाम्रो खुसीलाई प्रभावित गरेको छ तर हामी आफ्नो जीवनलाई एकसाथ सुरु गर्नका लागि उत्साहित छौं । म विश्वस्त छु कि तपाईंहरु पनि खुसी हुनुहुन्छ ।’ काजल गएको १६ वर्षदेखि चलचित्र अभिनयमा सक्रिय छिन् ।
‘क्यों हो गया ना’ बाट अभिनय करिअर सुरु गरेकी उनले साउथसँगै बलिउड चलचित्रमा पनि राम्रो पहिचान बनाएकी छन् । १९ जून १९८५ मा जन्मिएकी उनले साउथका अधिकांश ठूला अभिनेतासँँग काम गरिसकेकी छन् । सन् २००७ मा आएको चलचित्र ‘लक्ष्मी कलयाणम’ को सफलताले उनको करिअर उत्कर्षमा पुगेको थियो । काजलको करिअरको सबैभन्दा ब्लकबस्टर चलचित्र ‘मगधीरा’ हो ।