लकडाउनमा चलचित्रबाट प्रस्ताव आएन : वर्षा राउत
कोरोना भाइरसका कारण विगत सात महिनादेखि चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । यो अवस्था दशैं र तिहारसम्म नै रहने देखिन्छ । चलचित्र सम्बन्धि कुनै गतिविधि नहुँदा धेरै कलाकारहरु फुर्सदिला भएका छन् । तर, यो समयमा उनीहरुलाई चलचित्रको अफर भने बाक्लै आयो । राजेश हमाल, दयाहाङ राई, बर्षा सिवाकोटी, उपासना सिंह ठकुरीलगायतले लकडाउनमा आधा दर्जन बढी चलचित्रबाट प्रस्ताव आएको बताएका छन् ।
अहिलेकी चल्तीकी अभिनेत्री बर्षा राउत भने लकडाउनको समयमा आफूलाई चलचित्रबाट प्रस्ताव नआएको बताउँछिन् । ‘अहिले मेरो पाइपलाइनमा दुई चलचित्र छ, ‘दुई नम्बरी र के घर के डेरा’ । यी दुई चलचित्रको छायांकन पूरा नभएसम्म नयाँ फिल्ममा हात हाल्ने सोचमा छैन,’ उनले भनिन्, ‘लकडाउनको समयमा म्यूजिक भिडियोमा बढी व्यस्त भएँ । चलचित्रबाट भने खासै प्रस्ताव आएन ।’

लकडाउनको समयमा सीमा विवादको विषयमा दिएको अभिव्यक्तिले बर्षा ठूलो विवादमा तानिएकी थिइन् । यो विवादले उनको करिअरमा असर गर्ने कतिपयले आँकलन गरेका थिए । लकडाउनमा चलचित्रबाट प्रस्ताव नआउनुको कारण कन्ट्रोभर्सी त होइन ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘कन्ट्रोभर्सी अरु कलाकारको पनि भइरहेको हुन्छ । यसले गर्दा हो जस्तो चाहिँ मलाई लाग्दैन ।’
बर्षा राउत पछिल्लो पटक चलचित्र ‘जात्रै जात्रा’ मा देखिएकी थिइन् । यो चलचित्रको सफलतापछि उनले लामो समय नयाँ चलचित्र साइन गरेकी थिइनन् । यसकारण कतिपयले विवाहपछि उनलाई चलचित्रबाट अफर नभएको टिप्पणी समेत गरे । उनीहरुलाई जवाफ दिन उनले एक हप्ताको अन्तरमा दुई चलचित्र साइन गरिन् । चलचित्र ‘नाईं नभन्नू ल ६’ मा पनि उनले काम गर्ने प्रवल सम्भावना छ ।