‘आई एम ट्वान्टी वान’ को छायांकन सुरु



गएको २ वर्ष अगाडि घोषणा गरिएको चलचित्र ‘आई एम ट्वान्टी वान’ को छायांकन सुरु भएको छ । अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहने चलचित्रको शनिवारबाट छायांकन सुरु भएको हो । घटस्थापनाबाट पहिलो सेड्युलको छायांकन सुरु भएको निर्माता प्रज्ज्वल शमशेर जवराले जानकारी दिए । चलचित्रको पहिलो सेड्युल एक हप्ताको राखिएको छ ।

नृत्यको कथामा आधारित भएर निर्माण हुने चलचित्रको निर्देशनको जिम्मेवारी रेनशा वान्तवा राईले सम्हालेकी छन् । उनले यसअघि चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को निर्देशन गरेकी थिइन् । निर्माता राणाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलचित्रको छायांकन थालेको बताए । उनका अनुसार, दशैंमा केही दिन चलचित्रको काम रोकिने र त्यसपछि पुनः दोस्रो सेड्युलको छायांकन सुरु हुनेछ ।

प्रज्ज्वलले भने, ‘हामीले एक-एक हप्ताको सेड्युल राखेर छायांकन सुरु गरेका हौं । कास्ट एन्ड क्रियू सबैको कोरोना बीमा गरेका छौं । छायांकन स्थलमा मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक मेडिकल सामाग्री राखेका छौं । सेटमा कलाकारसहित २५ जनाभन्दा बढी उपस्थिति रहने छैन । कलाकार र प्राविधिकलाई एकै ठाउँमा राखेका छौं र बाहिरका व्यक्तिसँग भेट्न दिने छैनौं ।’

कोरोनाका कारण सरकारले गएको सात महिनादेखि फिल्म निर्माण र प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा कयौं चलचित्रको छायांकन सुरु हुन सकेको छैन । निर्माता राणा भने चलचित्र विकास बोर्डबाट अनुमति लिएर चलचित्रको छायांकन सुरु गरेको बताउँछन् । जिल्ला प्रशासन कार्यालयले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर छायांकन अनुमति दिएको उनले बताए ।

आइकोर फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्र ‘आई एम ट्वान्टी वान’ को छायाँकारमा सुशन प्रजापति छन् । चलचित्रमा वाइल्ड रिभर्स क्रूको कोरियोग्राफी रहनेछ भने रोहित शाक्यले चलचित्रको गीतमा संगीत भरेका छन् । विगत एक वर्षदेखि धिरज र जसिताले चलचित्रका लागि नृत्यको तालिम लिएका थिए । यो जोडीले पहिलो पटक एकसाथ चलचित्रमा काम गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu