करिश्माले बिस्कुट खाएको तस्बिर जब विज्ञापन बनेर छापियो



एक समय नेपाली चलचित्रमा एकछत्र राज गरेकी अभिनेत्री हुन्, करिश्मा मानन्धर । उनको टाउको पोस्टरमा राखे चलचित्र विक्छ भन्ने विश्वास निर्माता तथा निर्देशकमा थियो । उनले आफ्नो समयमा हिरो सरह स्टारडम बनाएकी थिइन् । २०४२ सालमा बनेको चलचित्र ‘सन्तान’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले हिन्दी चलचित्र ‘दंगा फसाद’ मा समेत आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन् ।

पछिल्लो केही वर्षयता भने उनी चलचित्र अभिनयमा सक्रिय छैनन् । बेला बखतमा म्यूजिक भिडियोमा अभिनय गरे पनि उनले चलचित्रमा काम गरेकी छैनन् । अहिले उनी अध्ययनमा व्यस्त छिन् । १४ वर्षको उमेरमा कक्षा ८ मा पढ्दै गर्दा ‘सन्तान’ चलचित्रमा अभिनय गरेपछि उनले अध्ययनलाई निरन्तरता दिन सकेकी थिइनन् । करिब तीन दशकपछि उनी आफ्नो पढ्ने इच्छालाई पूरा गरिरहेकी छन् ।

जब करिश्मा करिअरको उत्कर्षमा थिइन् तब चलचित्रमा खेलाउन निर्माता-निर्देशक झैँ ठूला कम्पनीबीच पनि ब्रान्डको प्रवद्र्धनका लागि विज्ञापनमा उनलाई लिन हानाथाप गर्थे । यसको एउटा गतिलो प्रमाण हो, नेविको बिस्कुट । २०४२/४३ सालतिर एक स्टूडियोमा करिश्माको फोटोसुट भइरहेको थियो । खाजा खाने समयमा निर्माण नियन्त्रक गेहेन्द्र धिमालले उनलाई नेविको बिस्कुट दिए ।

करिश्मा मानन्धरले चियासँग बिस्कुट खाइरहेको बेला फोटोग्राफर भीम रानाले उनलाई पोज दिन आग्रह गरे । करिश्माले पनि नेविको बिस्कुट टोक्दै मन्द मुस्कानका साथ पोज दिइन् । यो फोटो सम्झनाका लागि खिचेको हुनसक्ने अनुमान उनले लगाएकी थिइन् । तर, केही समयपछि उनको अनुमति बिना नै नेविको बिस्कुटले उक्त तस्विर प्रयोग गरेर पत्रपत्रिकामा विज्ञापन नै छाप्यो ।

निर्देशक सुव्रत आचार्यले फेसबुकमा नेविको बिस्कुट अहिले पनि पाइन्छ ? भनेर सोधेको एक पोस्टमा करिश्माले यो बिस्कुटको विज्ञापनमा आफ्नो तस्विर आउनुको कारण खुलाउँदै लेखेकी छन्, ‘विज्ञापन आएपछि मैले धिमाल दाईको घरमै गएर दाई यो त विज्ञापन रहेछ खोइ मेरो पारिश्रमिक भनेर लिएरै छाडेँ ।’ नेविको बिस्कुटले विज्ञापनमा उनको तस्बिर वर्षौंसम्म पनि प्रयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu