‘छ माया छपक्कै २’ बन्ने



केही वर्षयता नेपालमा सिक्वेल चलचित्रको बाढी लागेको छ । यसबीच, गत वर्ष प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ को पनि सिक्वेल निर्माण हुने भएको छ । घरेलु बक्सअफिसमा १४ करोड ग्रस कलेक्सन गरेको चलचित्रको सिक्वेलको अहिले स्क्रिप्टमा काम भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिए । चलचित्रको निर्माण भने तत्काल नहुने उनले बताए ।

निर्माता अधिकारीले भने- ‘दर्शकहरुले ‘छ माया छपक्कै’ को सिक्वेलको माग गर्नुभएका कारण हामी त्यसको तयारीमा जुटेका हौं । चलचित्रको निर्माण केही समयपछि हुने भए पनि स्क्रिप्टमा काम सुरु भएको छ । यसपटक पनि चलचित्रमा कमेडीसँगै गम्भीर विषय उठाइनेछ ।’ उनका अनुसार, चलचित्रको निर्देशन दीपेन्द्र लामाले गर्नेछन् । ‘छ माया छपक्कै’ को निर्देशन पनि उनैले गरेका थिए ।

दीपकराज गिरी र दीपाश्री निरौलाको टिम कोभिड १९ को महामारी सामान्य भएपछि ‘छक्का पञ्जा ४’ निर्माण गर्दैछ । त्यस्तै, निर्माता रोहित अधिकारी निर्देशक दिनेश राउतसँग नयाँ चलचित्र बनाउने तयारीमा छन् । यो चलचित्रमा अभिनेता अनमोल केसीले अभिनय गर्ने चर्चा छ । दुवै टिमको पाइपलाइनमा रहेका चलचित्रको छायांकन पूरा भएपछि ‘छ माया छपक्कै २’ को निर्माण हुनेछ ।

रोहितले चलचित्रको सिक्वेलमा कलाकार परिवर्तन हुनसक्ने बताए । उनले भने- ‘दीपकराज दाई चलचित्रमा सोलो हिरो बन्न सक्नुहुन्छ । यद्यपि, अहिले हामी छलफलकै चरणमा छौं ।’ दीपक-दीपाको टिमले मुनाफाको ५० प्रतिशत लिने सहमतिमा ‘छ माया छपक्कै’ गरेको थियो । चलचित्रमा रोहित एक्लैको लगानी थियो । उनले यसअघि अनमोल केसीलाई लिएर चलचित्र ‘गाजलु’ बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu