दशैंमा टिभीमा हेर्नुहोस् ‘समर लभ’
सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’ मा आधारित चलचित्र ‘समर लभ’ फूलपातीबाट स्याटलाइटमा रिलिज हुने भएको छ । निर्देशक मुस्कान ढकालले चलचित्र दशैंको अवसर पारेर फूलपातीबाट डिसहोममार्फत् सार्वजनिक हुने जानकारी गराए । ढकालका अनुसार, चलचित्र डिसहोमको च्यानल नम्बर ८ मा हेर्न सकिनेछ ।

ढकालले दशैंमा चलचित्र हेर्ने दर्शकको परम्परालाई जिवन्त राख्न टिभीमै भए पनि रिलिज गर्न लागेको जानकारी गराए । ‘दसैंमा नेपाली चलचित्र हेर्ने दर्शक परम्परा रही आएको छ । यो साल महामारीका कारण नयाँ चलचित्र रिलिज हुन सकेका छैनन् । दसैं खल्लो नहोस् भनेर हामीले टिभीमै भए पनि रिलिज गर्ने निर्णय गरेका हौं,’ मुस्कानले भने । दर्शकले २ सय २५ मा चलचित्र हेर्न सक्नेछन् ।
डिसहोमको प्रदर्शनपछि चलचित्र म्याक्स प्लेयर र नेट टिभीमा पनि रिलिज गर्ने तयारी भइरहेको छ । मुस्कानले चलचित्र तत्कालै युट्युबमा भने रिलिज नहुने जानकारी गराएका छन् । सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारी आदि कलाकारको अभिनय रहेको चलचित्र गत सालको माघ २५ मा हलमा रिलिज भएको थियो । चलचित्रमा सञ्जय लामाको छायांकन र पुष्पन प्रधानको संगीत रहेको छ ।