कथाले मागे ‘कसले चोर्‍यो मेरो मन २’ मा रेखा र आर्यन : सविर श्रेष्ठ



नेपाली चलचित्रका बाघ निर्माताको रुपमा चिनिएका छविराज ओझा एक दशक अगाडिको सुपरहिट चलचित्र ‘कसले चोर्‍यो मेरो मन’ को दोस्रो श्रृंखला निर्माणको तयारीमा जुटेका छन् । चलचित्रको निर्देशन सविर श्रेष्ठले गर्दैछन् । यो चलचित्रको पहिलो पार्टलाई पनि उनैले निर्देशन गरेका थिए । चलचित्रको सिक्वेल निर्माण हुने पक्का भए पनि स्क्रिप्ट फाइनल भएको छैन ।

‘कसले चोर्‍यो मेरो मन २’ को स्क्रिप्ट छेतन गुरुङले लेखेका थिए । उनको निधन भएपछि अपूरो स्क्रिप्ट कसले पूरा गर्ने र त्यसको राइट्स कोसँग लिने भन्नेमा निर्माण टिम अन्योल छ । सविर श्रेष्ठ स्क्रिप्ट फाइनल नभएकाले चलचित्रमा पुराना कलाकार दोहोर्‍याउने वा नयाँ लिने भन्नेमा निर्णय नभएको बताउँछन् । ‘कसले चोर्‍यो मेरो मन’ मा रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका थियो ।

यो चलचित्रको दोस्रो पार्ट निर्माण हुने खबर बाहिरिएसँगै चलचित्रमा रेखा र आर्यन दोहोरिन्छन् वा दोहोरिँदैनन् भन्ने चासो धेरैमा छ । चलचित्रमा उनीहरु दोहोरिने सम्भावना कति छ ? भन्ने प्रश्नमा सविर भन्छन्, ‘स्क्रिप्ट फाइनल नभएसम्म यो भन्न गाह्रो छ । कथाले उहाँहरुलाई माग्छ कि माग्दैन त्यो महत्त्वपूर्ण कुरा हो । आर्यन र रेखा दोहोरिने र नदोहोरिने सम्भावना ५०/५० प्रतिशत छ ।’

लकडाउनभन्दा अगाडि निर्देशक श्रेष्ठ अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको नयाँ चलचित्रको तयारीमा थिए । चलचित्रको स्क्रिप्टदेखि कलाकारसम्म फाइनल भइसकेका छन् । तर, कोरोनाका कारण यो चलचित्रको छायांकन सुरु हुन सकेको छैन । चलचित्रमा रेखाले अभिनेता सौगात मल्लसँग काम गर्दैछिन् । ‘कसले चोर्‍यो मेरो मन २’ भन्दा अगाडि रेखाको चलचित्रको छायांकन थाल्ने सोचमा सविर छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu