पुष्प भन्छन्, ‘पारिश्रमिक घटाएर चलचित्र र म्यूजिक भिडियो गरिरहेको छु’



कोरोना भाइरसका कारण नाजुक अवस्थामा रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन चलचित्र निर्माणको गति बढाउनु पर्ने र कलाकारदेखि प्राविधिकसम्मले पारिश्रमिक घटाएर काम गर्नुपर्ने आवाज उठिरहेको छ । केही कलाकारले चलचित्र क्षेत्रलाई पुरानो अवस्थामा फर्काउन पारिश्रमिक घटाएर काम गर्न तयार रहेको बताएका छन् । अभिनेता पुष्प खड्काले पारिश्रमिक घटाउन तयार रहेको बताए ।

लकडाउनमा ‘कृष्ण लीला’ र मुकुन्द भट्टको गरी दुई चलचित्र साइन गरेका उनले चलचित्रसँगै म्यूजिक भिडियोमा पनि आफूले पारिश्रमिक कम लिएर काम गरिरहेको बताएका छन् । लकडाउनपछि आफूले ३०/४० प्रतिशत कम पारिश्रमिक बुझेर म्यूजिक भिडियो गरिरहेको र चलचित्र ‘कृष्ण लीला’ मा केही प्रतिशत पारिश्रमिक लिएर बाँकी शेयरमा काम गर्न लागेको उनले बताए ।

मंगलवार शिव हमालको ‘नीरमाया’ बोलको गीत सार्वजनिक कार्यक्रममा उनले भने- ‘अहिले हामी सबै मिलेर चलचित्र इन्डस्ट्रीलाई उठाउनु पर्नेछ । यो अवस्थामा सबैले हातेमालो गरेर चलचित्र निर्माणका लागि सहज वातावरण बनाउनु पर्छ ।’ ‘कृष्ण लीला’ पछि अभिनेता खड्काले मुकुन्द भट्टको एक्सन चलचित्रमा काम गर्दैछन् । यसका लागि उनले ६ महिनाको एक्सन तालिम लिनेछन् ।

लकडाउन र निषेधाज्ञा खुकुलो भएपछि पुष्पले झण्डै तीन दर्जन हराहारीमा म्यूजिक भिडियोमा काम गरे । अहिले उनी अभिनीत म्यूजिक भिडियो दैनिक जसो टेलिभिजन र यूट्युबमा रिलिज हुने गरेका छन् । यसले उनको चलचित्र करिअरलाई ठूलो असर गर्ने कतिपयको विश्लेषण छ । तर, म्यूजिक भिडियोमा काम गरेर चलचित्र करिअरलाई असरभन्दा फाइदा पुगेको उनको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu