नयाँ चलचित्र निर्माणको तयारीमा केकी
अभिनयमा पारंगत मानिने अभिनेत्री केकी अधिकारीले चलचित्र निर्माण समेत गरिसकेकी छन् । २०७५ सालमा प्रदर्शनमा आएको कमेडी चलचित्र ‘कोहलपुर एक्सप्रेस’ लाई उनले निर्माण गरेकी थिइन् । तर, चलचित्रलाई ‘चोरी’ को बात लाग्यो । दक्षिण भारतीय चलचित्र ‘मुम्बई एक्सप्रेस’ को कथा हुबहु उतारिएको यो चलचित्रले केकीको स्वच्छ छविमा ‘चोरी’ को दाग लाग्यो ।

केही समय अगाडि उनले यो दाग मेट्न चाँडै मौलिक विषयवस्तुमा चलचित्र बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । अब उनी नयाँ चलचित्र निर्माणको तयारीमा जुटेकी छन् । तिहारपछि चलचित्र ‘परदेशी २’ को छायांकनमा व्यस्त हुने तयारीमा रहेकी उनले आफूले निर्माण गर्न लागेको नयाँ चलचित्रको एक महिनादेखि वर्कसप भइरहेको र अझै २ महिना चल्ने बताइन् ।
उनका अनुसार, चलचित्रका लागि सम्पूर्ण कास्ट एन्ड क्रियू फाइनल भइसकेका छन् । चलचित्र सामाजिक विषयवस्तुमा बन्ने केकीको भनाई छ । ‘कोहलपुर एक्सप्रेस’ निर्देशक गरेका विशाल भण्डारी ‘कमेडी च्याम्पियन २’ मा व्यस्त हुने भएकाले चलचित्रमा अर्कै निर्देशकको प्रवेश भएको छ । स्थिति सामान्य भएपछि केकी एक कार्यक्रम गरेर चलचित्रको घोषणा गर्ने तयारीमा छिन्