खिलले गर्ने भए ‘बारपाकी माया २’ को निर्देशन
गुरुङ संस्कारमा बनेको नेपाली चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ लाई खिल बहादुर गुरुङले निर्देशन गर्ने भएका छन् । यसको पहिलो पार्टलाई प्रितम गुरुङले निर्देशन गरेका थिए । खिलले यसअघि अभिनेता सौगात मल्ल अभिनीत चलचित्र ‘मन्त्र’ निर्देशन गरेका थिए । यो चलचित्रमा प्रदर्शनमा आउन बाँकी छ ।
गोरखाको बारपाक गाउँमा सम्पूर्ण छायांकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ संस्कारको विषयलाई उत्थान गरेको थियो । ‘बारपाकी माया २’ मा भने बारपाकको जनजीवन र त्यहाँको रहन सहनलाई समेटिने छ। लकडाउनको समयमा चलचित्रको स्क्रिप्ट तयार पारिएको हो ।

करिब ८० लाखको बजेटमा निर्माण हुने चलचित्रको छायांकन उत्तरी गोर्खाको बारपाक लगायत सिरानचोकको आरुबोट, झारगाउँ, अजिरकोटको भच्चेक सिरानडाडा जस्ता रमणीय स्थानहरुमा गरिनेछ । सरकारले छायांकन अनुमति दिएपछि चलचित्र फ्लोरमा निस्कनेछ ।
चलचित्रमा वीरबल घले, सुरज गुरुङ लक्ष्मी गुरुङ, तलिसा गुरुङ, बल बहादुर गुरुङको मुख्य भूमिका रहनेछ । २०७२ सालको महाभुकम्पअघि बनेको ‘बारपाकी माया’ ले बारपाकको गाउँको सुन्दर दृश्यहरु कैद गरेको थियो । महाभुकम्पले उक्त गाउँ तहसनहस भएको थियो र अहिले पुनर्निर्माणपछि बनेको गाउँको दृश्यहरुलाई ‘बारपाकी माया २’ मा समेटिनेछ ।