बोर्ड अध्यक्ष दाहाल भन्छन्, ‘चलचित्र क्षेत्र सुचारु गर्न पहल गरिरहेको छु’
विगत आठ महिनादेखि ठप्प रहेको चलचित्र क्षेत्र विस्तारै चलमलाउन थालेको छ । सिनेमा हल सञ्चालनमा आउन नसके पनि चलचित्रको छायांकन भने भइरहेका छन् । केही चलचित्र छायांकनमा निस्कने तयारीमा छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रको छायांकन सुरु हुन थालेकोमा खुसी व्यक्त गरेका छन् । अब चलचित्र क्षेत्र विस्तारै उठ्न थालेको उनको भनाई छ ।
सरकारले चाँडै चलचित्र क्षेत्रलाई सञ्चालनको अनुमति दिने विश्वास व्यक्त गर्दै उनले सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चलचित्रको छायांकन गर्न आग्रह गरेका छन् । सानो टिमका लागि सरकारले चलचित्र छायांकनमा अवरोध नगरेको उनले बताए । चलचित्रको छायांकन गर्नुअघि स्थानीय वडा र नगरपालिकासँग सम्वन्य गर्न उनले निर्माता तथा निर्देशकलाई सुझाव दिएका छन् ।

शनिवार एक कार्यक्रममा दाहालले भने- ‘मैले सरकारका मन्त्रीहरु र सम्बन्धित क्षेत्रका व्यक्तिसँग पनि चलचित्र क्षेत्र सुचारु गर्न आग्रह गरिरहेको छु । चलचित्र क्षेत्रका गतिविधि ठप्प हुँदा दैनिक श्रम गरेर जीवनयापन गर्ने चलचित्रकर्मीलाई समस्या भएको छ । त्यसैले चलचित्र क्षेत्र खुलाउनु पर्छ भन्ने मेरो मान्यता हो ।’
‘मैले दुई महिना अगाडिदेखि सरकारसँग चाँडोभन्दा चाँडो सिनेमा हल र चलचित्र छायांकनको अनुमति दिन माग गरिरहेको छु । कोरोनाले श्रमजीवि चलचित्रकर्मीको पहिचान नै मेटिने अवस्था आयो भनेर मैले सञ्चार मन्त्रालयलाई पत्रचार गरेको थिएँ । सञ्चार मन्त्रालयले पनि सिसिएमसीलाई सिनेमा हल र चलचित्र छायांकन खोल्न स्वीकृति दिनु भनेर प्रस्ताव पठाइसकेको छ,’ उनले भने ।