आर्यनलाई प्रश्न : अंग्रेजी नामको चलचित्र फापेको हो ?



एक समय आर्यन सिग्देललाई बक्सअफिसको हिट मेशिन भन्ने गरिन्थ्यो । कतिपयले उनलाई नेपाली चलचित्रको नम्बर वान अभिनेता समेत भन्ने गरेका थिए । दशक अगाडि लभस्टोरी चलचित्रमा निर्विकल्प अभिनेताको रुपमा आफूलाई उभ्याएका उनी लभस्टोरी चलचित्रमा मनछुने अभिनय गर्न सिपालु छन् । लभस्टोरी चलचित्रमा उनी जति उम्दा अभिनय गर्ने अरु अभिनेता नभएको चर्चा आज पनि हुने गरेको छ ।

नेपाली चलचित्रमा राम्रो माग हुँदा गुणस्तरभन्दा संख्यात्मक अभिनयमा जोड दिएपछि उनको स्टारडम कमजोर बनेको छ । आर्यन केही वर्षयता एउटा हिट चलचित्रको खोजीमा छन् । उनी अभिनीत पछिल्ला कुनै चलचित्र सफल छैनन् । गत वर्ष उनी अभिनीत दुई चलचित्र ‘हजार जुनीसम्म’ र ‘चच हुईं’ प्रदर्शनमा आएका थिए । तर, दुवै चलचित्रले उनको डुब्न लागेको करिअर बचाउन सकेनन् ।

अब उनी नयाँ चलचित्र ‘डिसेम्बर फल्स’ मा काम गर्ने तयारीमा छन् । शनिवार यो चलचित्रको राजधानीमा एक कार्यक्रममा बीच निर्माण घोषणा गरिएको छ । माघबाट छायांकन सुरु हुने चलचित्रमा सलोन बस्नेतको पनि अभिनय रहनेछ । ‘डिसेम्बर फल्स’ अंग्रेजी नाम हो । आर्यनले यसअघि पनि अंग्रेजी नाममा बनेका ‘फस्ट लभ, नोभेम्बर रेन, क्लासिक, होमवर्क, आई एम सरी’ चलचित्रमा अभिनय गरिसकेका छन् ।

उनलाई अंग्रेजी नाममा बनेका चलचित्र फाप्छ समेत भन्ने गरिन्छ । ‘फस्ट लभ, नोभेम्बर रेन र क्लासिक’ यसका उदाहरण हुन् । आर्यन भने अंग्रेजी नामका चलचित्रमा आबद्ध हुनुलाई संयोगको रुपमा लिन्छन् । ‘डिसेम्बर फल्स’ को घोषणा कार्यक्रममा उनले भने, ‘मलाई अंग्रेजी नाम फापेको हो कि अंग्रेजी महिना फापेको हो, थाहा भएन । तर, चलचित्रको मुडलाई बोक्ने टाइटल हुनुपर्छ । अन्तर्राष्ट्रिय भाषा भए पनि समस्या छैन ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu