‘कृष्ण लीला’ को छायांकन सुरु
आठ महिनासम्म ठप्प रहेको चलचित्र क्षेत्र विस्तारै चलमलाउन थालेको छ । सिनेमा हल सञ्चालनमा आउन नसके पनि चलचित्रको छायांकन भने भइरहेका छन् । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री स्टारर चलचित्र ‘कृष्ण लीला’ को पनि शुक्रवारबाट छायांकन सुरु भएको छ । अहिले चलचित्रको इलामका विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको छ । इलाम आसपासमा नै चलचित्रको सम्पूर्ण छायांकन हुनेछ ।

दीपक ओलीको निर्देशन र लक्ष्मण सवेदीको लेखन रहेको चलचित्रको सटिङ ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको गीतबाट सुरु भएको कार्यकारी निर्माता रत्न श्रेष्ठले जानकारी दिए । गीतको भिडियोमा चलचित्रका लिड अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री फिचर छन् । निर्माण टिमले सार्वजनिक गरेको गीत छायांकनका तस्विरमा पुष्प र श्रद्धा रोमान्टिक अवतारमा देखिएका छन् ।
अन्जु पन्त र सुगम पोखरेलको स्वरमा समावेश गीतमा अर्जुन पोखरेलको संगीत छ । रामजी लामिछानेले भिडियोको कोरियोग्राफी गरेका हुन् । बाबु श्रेष्ठले खिचेको गीतको भिडियो निकै सुन्दर बनेको लामिछानेले बताएका छन् । आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’ को निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् ।

चलचित्रमा बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय छ । सप्तकोशी नदीको किनारमा सेट खडा गरेर चलचित्रको छायांकन सुरु गरिएको थियो । पुष्प खड्काले ‘कृष्ण लीला’ मा दर्शकले आफूलाई अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने बताएका छन् । श्रद्धा पनि चलचित्रलाई लिएर निकै उत्साहित छिन् ।