रेश्मा घिमिरेले गरिन् इन्गेजमेन्ट
टिकटक स्टारको रुपमा परिचित रेश्मा घिमिरेले इन्गेजमेन्ट गरेकी छन् । बुधवार उनले प्रभात बासुसँग इन्गेजमेन्ट गरेकी हुन् । इन्गेजमेन्ट समारोहमा दुवै पक्षका परिवारको उपस्थिति रहेको थियो । अमेरिकामा बस्दै आएका प्रभातसँग रेश्मा लामो समयदेखि प्रेममा थिइन् । प्रभात पेशाले चिकित्सक हुन् भने रेश्मा पनि नर्स हुन् । उनीहरुको विवाहको मिति भने तय भएको छैन ।

रेश्माले चलचित्र ‘यो साइनो मायाको’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसपछि रंगिन दुनियाँबाट हराएकी उनी पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त छिन् । टिकटकबाट रातारात चर्चामा आएकी उनी जन्मथलो विराटनगरमा नै बस्ने गर्दछिन् । गएको हप्ता ‘लगनगाँठो’ एल्बमका पाँच गीत सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आएकी थिइन् ।
चलचित्र ‘यो साइनो मायाको’ असफल भएपछि निराश भएकी रेश्मालाई अहिले चलचित्रबाट प्रस्तावको ओइरो लाग्ने गरेको छ । तर, उनी अडिसनबाट पास भएपछि मात्र चलचित्र गर्ने सोचमा छिन् । कसैको आग्रह वा सिफारिसमा चलचित्र नगर्ने उनको भनाई छ । ‘इन्स्टाको फोटो’ बोलको गीतले लोकप्रियताको उचाईमा पुगेकी रेश्मालाई टिकटकमा १२ लाख बढीले पछ्याउने गरेका छन् ।