विजयेन्द्रसँग लगनगाँठो कस्दै श्वेता



अभिनेत्री श्वेता खड्का बैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । श्वेताले यहि मंसिर २२ गते सोमबार धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । श्वेताको विवाहको निम्तो कार्ड सार्वजनिक भएसँगै उनको विवाह पक्का भएको पुष्टि भएको हो । गोकर्ण फरेस्ट रिसोर्टमा श्वेताको विवाह हुने कार्डमा उल्लेख गरिएको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको बुझिएको छ ।

श्वेता स्वयंले एक अनलाइन पोर्टलमा आफूले मंसिर २२ गते बिहे गर्न लागेको बताएकी छन् । विवाह कार्डमा उल्लेख भए अनुसार उनीहरुको विवाह विहानैदेखि सुरु हुनेछ । गएको मंसिर ५ गते नै श्वेताले विजयेन्द्रसँग विवाह गर्न लागेको चर्चा चलेको थियो । तर, उनले यो खबरमा कुनै सत्यता नभएको बताएकी थिइन् ।

श्वेताले चलचित्र ‘कहाँ भेटिएला’ बाट अभिनयमा डेब्यू गरेकी हुन् । यो चलचित्रमा काम गर्दैगर्दा उनी स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको प्रेममा डुबेकी थिइन् । उनीहरुले २०७१ साल असार २३ गते विवाह गरेका थिए । तर, विवाह बन्धनमा बाँधिएको एक महिनापछि श्रीकृष्णको २०७१ साल साउन २५ गते निधन भएको थियो । श्रीमानको निधनले श्वेता खड्का लामो समय विक्षिप्त भएकी थिइन् ।

चलचित्र ‘कान्छी’ बाट अभिनयमा फर्किएकी उनी विभिन्न व्यवसायमा समेत आबद्ध छिन् । कोरोनाको महामारी सामान्य भएपछि उनी नयाँ चलचित्र निर्माण गर्ने तयारीमा छिन् । लकडाउनको समयमा उनले यम थापाको निर्देशनमा बन्न लागेको बेनामे चलचित्र साइन गरेकी छन् । उनले श्वेताश्री फाउण्डेशनद्वारा सिन्धुपाल्चोकमा एकिकृत नमुना माझी बस्ती पनि निर्माण गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu