नेपाल फर्केसँगै वर्षाले थालिन् ‘परदेशी २’ को सुटिङ
दशैंको टिका थापेर अमेरिका उडेकी अभिनेत्री अभिनेत्री वर्षा सिवाकोटीले नेपाल फर्किएसँगै चलचित्र ‘परदेशी २’ को छायांकन सुरु गरेकी छन् । बिहीवारबाट उनले चलचित्रको सुटिङ सेट ज्वाइन गरेकी हुन् । मंसिर ११ गतेदेखि चलचित्रको पाल्पाबाट छायांकन सुरु भएको थियो । पाल्पाको छायांकन सकेर निर्माण टिम बुधवार चितवन फर्किएको छ । पाल्पामा भएको छायांकनमा वर्षाको सिन थिएन ।

आठ महिनापछि चलचित्रको सेटमा फर्किन पाएकोमा उनले खुसी व्यक्त गरेकी छन् । निषेधाज्ञा खुकुलो भएपछि विभिन्न म्यूजिक भिडियोमा काम गरेकी उनी लकडाउनभन्दा अगाडि ‘परदेशी २’ कै छायांकन गरिरहेकी थिइन् । अब यो चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको निर्देशक नारायण रायमाझीले बताएका छन् । चितवनपछि चलचित्रको केही सिन जनकपुरमा खिचिनेछ ।
चलचित्रमा वर्षाका अलावा दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, प्रकाश सपूत, केकी अधिकारी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लूलगायतका कलाकारहरुको अभिनय रहेको छ । रमेश विजीले तयार पारेको कथामा निर्माण भइरहेको चलचित्रलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । चलचित्रमा विभिन्न कारणले विदेशिन बाध्य नेपालीहरुको कथालाई समेटिएको बताइएको छ ।