म्यारिज एनिभर्सरी : ऋचा लेख्छिन्, ‘एक वर्ष एकअर्कालाई ख्याल गर्नमा वित्यो’
विवाहका लागि उत्तम महिना मानिने मंसिरमा नेपाली सेलिब्रेटीहरुलाई विवाहको चटारोले छोप्ने गरेको छ । यसपालीको मंसिरमा केही कलाकारले लगनगाँठो कसिसकेका छन् । कति विवाहको तयारीमा छन् । गत वर्षको मंसिरमा विवाह गर्ने कलाकारहरु भने विवाहको पहिलो वर्षगाँठ मनाउँदैछन् । अभिनेत्री ऋचा शर्मा आइतवार विवाहको पहिलो वर्षगाँठ मनाइरहेकी छन् ।

गत वर्षको मंसिर २१ गते दिपेक्ष विक्रम राणासँग उनले घरजम बसाएकी थिइन् । बैबाहिक जीवनमा बाँधिनुभन्दा अगाडि उनीहरु दुई वर्ष प्रेम सम्बन्धमा थिए । पहिलो म्यारिज एनिभर्सरीमा अभिनेत्री ऋचाले एक वर्ष एकअर्काको ख्याल गर्न र जान्न-बुझ्नमा वितेको बताएकी छन् । उनले एक वर्ष एउटै घरको छतको मुनी विताएकोमा आफूलाई विश्वास नलागेको पनि बताएकी छन् ।
उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘काश ! मैले तपाईंको साथले समयको बहावलाई रोक्न सकेको हुँदो हुँ । एक वर्ष एकअर्काको ख्यान राख्न, एकअर्कालाई जान्न र बुझ्नमा वित्यो । र, म कसम खान्छु, मैले कहिल्यै तपाईंभन्दा अद्भुत कसैलाई मानिनँ ।’ दिपेक्ष ललितपुरस्थित लविम मलका म्यानेजर हुन् । त्यस्तै, ऋचा अभिनीत नयाँ चलचित्र ‘हिजो आजका कुरा’ प्रदर्शनको पखाईमा छ ।