८ महिनापछि मुम्बई फर्किइन् अदिती



तीन वर्ष अगाडि अनमोल केसी स्टारर चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी यसपछि मुम्बई फर्किएकी थिइन् । लामो समयदेखि भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनले एक दर्जन बढी हिन्दी र पञ्जाबी गीतमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन् । गएको महिना उनी अभिनीत ‘तु मेरा नही’ गीत सार्वजनिक भएको थियो ।

अदिती कोरोना महामारीको समयमा ‘कृ’ निर्देशक सुरेन्द्र पौडेलको नयाँ चलचित्रमा काम गर्न नेपाल आएकी थिइन् । केही दिन उनले वर्कसप समेत गरिन् । तर, कोरोना संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन घोषणा गरेपछि चलचित्रको छायांकन अनिश्चितकालका लागि रोकियो । अब स्थिति सामान्य भएपछि मात्र चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ ।

हालै एक अन्तर्वार्तामा अदितीले कोरोनाका कारण चलचित्रको छायांकन २/३ महिना पछाडि सरेको जानकारी दिएकी थिइन् । चलचित्रको छायांकन तत्काल नहुने भएपछि उनी बुधवार कर्मथलो मुम्बई फर्किएकी छन् । उनले आफ्नो आधिकारिक इन्स्टाग्राममा एक तस्विर साझेदार गर्दै ८ महिनापछि मुम्बई फर्किएको बताएकी छन् । उनले मुम्बईलाई आफ्नो दोस्रो घर भनेकी छन् ।

‘कृ’ पछि निर्देशनमा फर्किन लागेका सुरेन्द्रले नयाँ चलचित्रमा अदितीको जोडी गायक नितेशजंग कुँवर र धिरज टोटलानीसँग बाँधेका छन् । धिरज, अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् । उनले यही चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने फिल्मको नाम सार्वजनिक गरिएको छैन् । बजारमा भने चलचित्रको नाम ‘बाबरी क्याफे’ राखिएको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu