बिहे गर्ने तयारीमा वर्षा
अभिनेत्री वर्षा सिवाकोटीले अबको दुई वर्षभित्र विवाह गर्ने भएकी छन् । उनले सविनजंग थापासँगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी हुन् । गत वर्ष अमेरिका भ्रमणमा रहँदा उनी सविनको प्रेममा रहेको चर्चा चलेको थियो । यसपाली दशैंको टिका थापेर पारिवारिक भेटघाटका लागि अमेरिका जाँदा उनले सामाजिक सञ्जालको माध्यमबाट सविनसँगको प्रेम व्यक्त गरेकी हुन् ।

सविन र वर्षाको आफन्तको माध्यमबाट चिनजान भएको थियो । यसपछि उनीहरु एकअर्कासँग नजिक भएका थिए । लामो समयदेखि अमेरिकामा बस्दै आएका सविनलाई वर्षाले आफ्ना आफन्तसँग भेट गराइसकेकी छन् । सविनका परिवारसँग पनि एक महिनाको अमेरिका बसाईमा वर्षाले भेट गरेकी थिइन् ।
उनले तत्काल विवाह गर्ने सोच नभएको बताएकी छन् । तर, २ वर्षभित्र विवाह बन्धनमा बाँधिने तयारी रहेको उनको भनाई छ । विवाहपछि पनि आफूले चलचित्र क्षेत्र नछाड्ने उनी बताउँछिन् ।
चलचित्र ‘नाईं नभन्नू ल २’ बाट अभिनय करिअर सुरु गरेकी वर्षा लकडाउनअघि चलचित्र ‘परदेशी २’ को छायांकनमा व्यस्त थिइन् । अमेरिकाबाट फिरेपछि उनले केही दिन यही चलचित्रको छायांकन गरेकी थिइन् ।