दर्शकलाई हलमा स्वास्थ्य सुरक्षाको प्रत्याभुति गराउँछौं : अशोक शर्मा



सरकारले १० महिनादेखि बन्द रहेको सिनेमा हल खोल्न कुनै चासो नदेखाएपछि हल व्यवसायी र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले यही पुष १० गते शुक्रवारबाट सिनेमा हल खोल्ने स्वः घोषणा गरेको छ । सरकारले सिनेमा हल बन्द गर्न बल प्रयोग गरे त्यसको प्रतिकार गर्ने हल व्यवसायीहरुले बताएका छन् । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सिनेमा हल खोल्ने तयारीमा उनीहरु छन् ।

नेपाल चलचित्र संघले सिनेमा हल खोल्ने घोषणा गरेपनि अहिलेसम्म पुष १० गते कुन चलचित्र प्रदर्शन गर्ने भन्ने निधो भएको छैन । नेपाल चलचित्र संघका महासचिव अशोक शर्मा भन्छन्, ‘तत्काल नयाँ चलचित्र प्रदर्शन हुँदैनन् । यसका लागि केही समय लाग्न सक्छ । १५/२० दिन हामी प्रदर्शन भइसकेका हिट फिल्म चलाउँछौं । केही दिनमा चलचित्र रिलिजको सेड्युल सार्वजनिक गर्नेछौं ।’

अहिले चलचित्र प्रदर्शनका लागि वितरकहरुसँग छलफल भइरहेको उनले बताए । मल्टीप्लेक्सहरुले केही दिनमा चलचित्र रिलिजको तालिका सार्वजनिक गर्नसक्ने उनको भनाई छ । १० महिनादेखि घरमा बसेका दर्शकलाई सिनेमा हलसम्म आउने वातावरण बनाउन सिनेमा घर खोल्न लागेको शर्मा बताउँछन् । हलमा आउने दर्शकको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिइने उनले बताए ।

उनी भन्छन्, ‘अहिले हाम्रो ध्यान दर्शकलाई स्वास्थ्य सुरक्षाको प्रत्याभुति गराउनु रहेको छ । सिनेमा हललाई डिसइन्फेक्सन गर्ने, सेनिटाइज गर्ने, मास्क अनिवार्य गर्ने, टिकट काउन्टरमा सामाजिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा अपनाएर दर्शकलाई फिल्म हेर्ने वातावरण तयार गर्नेछौं । दर्शकलाई जब सुरक्षित महशुस हुन थाल्छ तब नयाँ चलचित्र प्रदर्शनका लागि पहल गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu