यसपटक जन्मदिनमा कुनै उत्साह छैन : शिल्पा पोखरेल



एक्सन अभिनेत्रीको रुपमा छवि बनाएकी शिल्पा पोखरेलको मंगलवार जन्मदिन मनाइरहेकी छन् । चलचित्र ‘लज्जा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनलाई जन्मदिनको अवसरमा चलचित्रकर्मी तथा शुभचिन्तकहरुले शुभकामना दिइरहेका छन् । तर, उनलाई भने यसपालीको जन्मदिनमा कुनै उमंग छैन । साथीहरुले जन्मदिन सेलिब्रेट गर्ने योजना बनाउँदा पनि उनले मानेकी छैनन् ।

अघिल्ला वर्षको जन्मदिनमा उनी आफ्नो व्यक्तिगत जीवनलाई सुन्दर रुपमा अगाडि बढाउने प्रण गर्ने गर्थिन् । तर, यसपाली उनले कुनै प्रण गरेकी छैनन् । उनी भन्छिन्, ‘पहिला मेरो पर्सनल लाइफ राम्रो होस् भनेर कामना गर्थेँ । त्यो त खराब नै भयो । अब भगवानले नै बुझेर दिनुहुन्छ ।’ अदालतमा मुद्धा चलिरहेका कारण यसपालीको जन्मदिनमा मन खुसी नभएको उनी बताउँछिन् ।

उनले गत वर्ष श्रीमान तथा निर्माता छविराज ओझाले घरेलु हिंसा गरेको भन्दै अदालतमा सम्बन्ध विक्षेदको लागि निवेदन दिएकी थिइन् । यसपछि छविराजकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी दिएपछि जिल्ला अदालत काठमाडौंले दुवैलाई पक्राउ गर्न आदेश दिएको थियो । तर, सर्वोच्च अदालतले दुवैलाई तत्काल पक्राउ नगर्न आदेश जारी गर्‍यो ।

अहिले अदालतमा मुद्धा विचाराधिन रहेका कारण शिल्पाका लागि यस वर्षको जन्मदिन विशेष बन्न सकेको छैन । तर, उनी आफ्नो व्यक्तिगत कारणले व्यवसायिक पाटोमा कुनै असर परोस् भन्ने चाहन्नन् । कामलाई निरन्तरता दिने सोचमा रहेकी उनले गएको हप्ता भोजपुरी चलचित्र ‘प्रेमगीत २’ को छायांकन सकाएकी छन् । त्यस्तै, उनको नेपाली चलचित्र ‘आर्या’ प्रदर्शनको पखाईमा छ ।

नयाँ जीवन सुरु गर्ने विषयमा अहिलेसम्म केही नसोचेको पनि उनले बताइन् । ‘मलाई मेरो जन्मदिन विशेष बनाउनु पर्छ भनेर त सोच आएको छैन भने आफ्नो जीवनमा नयाँ लाइफ पार्टनरलाई प्रवेश गराउने कुनै सोच नै छैन,’ उनले भनिन् । तीन सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी उनले ‘हवल्दार सुन्तली, किस्मत २, मंगलम’ लगायतका चलचित्रमा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu