यूट्युबमा सार्वजनिक भयो ‘छक्का पञ्जा ३’
कोरोनाका कारण सिनेमा हल बन्द हुँदा दर्शकले नयाँ चलचित्र हेर्न पाएका छैनन् । यही शुक्रवारबाट हल व्यवसायीहरुले १० महिनादेखि बन्द रहेको सिनेमा हल खोल्ने घोषणा गरे पनि तत्काल नयाँ चलचित्र प्रदर्शन नहुने भएका छन् । सिनेमा हलमै गएर चलचित्र हेर्ने बानी बसेका दर्शकले लकडाउनको समयमा हलमा प्रदर्शन भएका चलचित्र यूट्युबमा हेरेर चित्त बुझाउनु परेको छ ।
लकडाउनको समयमा एक दर्जन बढी चलचित्र यूट्युबमा सार्वजनिक भएका छन् । यसबीच, दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको चलचित्र ‘छक्का पञ्जा ३’ यूट्युबमा सार्वजनिक भएको छ । गएको दुई वर्ष अगाडि सिनेमा हलमा प्रदर्शन भएको चलचित्र पाइरेसी भएपछि हाइलाइट्स नेपालले बुधवार साँझ यूट्युबमा सार्वजनिक गरेको हो ।

पाइरेसीको कपी धेरै दर्शकको मोबाइलमा पुगेपछि निर्माण टिमले हाइलाइट्स नेपाललाई यूट्युबमा चलचित्र अपलोड गर्न आग्रह गरेको थियो । यूट्युबमा सार्वजनिक भएसँगै चलचित्रले केही घण्टामा नै सकारात्मक प्रतिक्रियासहित लाखौं भ्यूज पाएको छ । यूट्युब रिलिजको १५ घण्टामा चलचित्रलाई ६ लाखभन्दा बढी पटक हेरिएको छ । अहिले यो चलचित्र यूट्युब ट्रेन्डिङको ८औं नम्बरमा छ ।
घरेलु बक्सअफिसमा आक्रामक व्यापार गरेको चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्धि तामाङ, विल्सन विक्रम राई, नीर शाहलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रमा समावेश दुई गीत ‘पहिलो नम्बरमा र पछि उमेर ढल्किन्छ’ अहिले पनि चर्चामा छन् ।
नेपालको सामुदायिक विद्यालयमा हुने गरेको शैक्षिक बेथितिको विषय चलचित्रले उठान गरेको छ । व्यापारिकसँगै समीक्षात्मक रुपमा पनि सफल ठहरिएको यो चलचित्रको चौथौं श्रृंखला यस वर्षको दशैंमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम थियो । तर, कोरोना भाइरसका कारण चलचित्रको छायांकन समेत सुरु हुन सकेको छैन । अब स्थिति सामान्य भएपछि चलचित्रको छायांकन सुरु हुनेछ ।
चलचित्र हेर्नुहोस् :-