प्रदीपले गरे ‘मःम मज्जा’ को उद्घाटन



युवापुस्तामाझ लोभलाग्दो फ्यान फलोइंग बनाएका अभिनेता प्रदीप खड्काले नयाँ बानेश्वरस्थित नविल बैंकको भवनमा सञ्चालनमा आएको ‘मःम मज्जा’ को पहिलो आउटलेटको उद्घाटन गरेका छन् । बिहीवार एक कार्यक्रमका बीच उनले रिवन काटेर ‘मःम मज्जा : स्वाद घरको’ को उद्घाटन गरेका हुन् । ‘सानो मन र के घर के डेरा’ चलचित्रका निर्माता शरद श्रेष्ठको टिमले यो आउटलेट सञ्चालनमा ल्याएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदीपले नेपालमा मःमलाई ब्रान्डको रुपमा स्थापित गर्न ‘मःम मज्जा’ ले मद्दत गर्ने बताए । ‘कफीको चेन भनेझैँ मःमलाई पनि ब्रान्डको रुपमा स्थापित गर्न जरुरी छ । हामीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने- ‘मःम मज्जाको आउटलेटमा ग्राहकको स्वास्थ्यलाई विशेष ध्यान दिइएको छ । ग्राहकले अर्गानिक मःमको स्वाद पाउनुहुनेछ ।’

ग्राहकको स्वास्थ्यप्रति संवेदनशील र सचेत रहेका कारण ‘मःम मज्जा’ मा आफू आबद्ध भएको उनले बताए । उनी आफू पनि मःमको पारखी रहेको बताउँछन् । ‘लकडाउनमा मःम खाँदा-खाँदा अहिले त्यो घटाउँदैछु । साँधेको मःम विशेष मन पर्छ । भोक लागेको बेला डेढ दुई प्लेट मःम त खान्छु,’ उनले भने । घरमा पारिवारिक जमघट हुँदा मःम बनाउने गरेको पनि उनले बताए ।

त्यस्तै, सञ्चालक शरद श्रेष्ठले ग्राहकको स्वास्थ्य र स्वादलाई मध्यनजर गरेर ‘मःम मज्जा’ को सुरुवात गरेको बताए । ‘ग्राहकलाई घरको स्वाद दिनका लागि हामीले ‘मःम मज्जा’ को आउटलेट सुरु गरेका हौं । हामीले मःममा एमएसजी र अजिनो मोटो केही पनि प्रयोग गरेका छैनौं,’ उनले भने । चाँडै बसन्तपुरमा ‘मःम मज्जा’ को दोस्रो आउटलेट सञ्चालनमा आउने उनले जानकारी दिए ।

बसन्तपुरको आउटलेट पनि प्रदीपले नै उद्घाटन गर्नेछन् । एक वर्षभित्र देशका १० शहरमा ‘मःम मज्जा’ को आउटलेट सञ्चालन गर्ने तयारीमा शरदको टिम छ । सञ्चालक श्रेष्ठ चलचित्र निर्माण र व्यवसायलाई एकसाथ लैजाने सोचमा छन् । स्थिति सामान्य भएपछि उनले निर्माण गर्ने चलचित्र ‘के घर के डेरा’ को छायांकन सुरु हुँदैछ । चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu