सुरु भयो ‘हिँड्दा हिँड्दै’ को छायांकन
सरकारले छायांकन अनमुति दिएसँगै अभिनेता द्वय आकाश श्रेष्ठ र सलोन बस्नेतको मुख्य भूमिका रहने चलचित्र ‘हिँड्दा हिँड्दै’ को छायांकन सुरु भएको छ । प्रेमकथामा आधारित भएर निर्माण हुने चलचित्रको गोदावरीबाट छायांकन थालिएको निर्देशक मिलन आले मगरले जानकारी दिए । सुटिङको पहिलो दिन सलोन बस्नेत र अभिनेत्री सानिया खानको दृश्य खिचिएको छ ।

सुशील पंगेनी प्रस्तुतकर्ता रहेको चलचित्रमा विकास थापा मगर, विवेक रामदाम, ममता पौडेललगायतका कलाकारहरुको अभिनय रहनेछ । यही चलचित्रबाट रेखा शाहले अभिनयमा डेब्यू गर्दैछिन् । प्रस्तुतकर्ता पंगेनी स्वयंको कथा रहेको चलचित्र त्रिकोणात्मक प्रेमकथामा बन्नेछ । चलचित्र निर्माणमा नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टले कोहलपुर मोडल कलेजसँग सहकार्य गरेको छ ।
प्रमोद कुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ निर्माता रहेको चलचित्रमा महादेव शाही सह निर्मातामा छन् । काठमाडौं र गाईघाटमा छायांकन हुने चलचित्रका छायाँकार सुमन तन्डुकार हुन् । चलचित्रका गीतमा बसन्त सापकोटा र किरण माइकलको संगीत र कविराज गहतराजले कोरियोग्राफी गर्नेछन् । देव महर्जनले द्वन्द्व रहने चलचित्रको छायांकन अवधि ३५ दिन तोकिएको छ ।