‘चार दुना नौं’ ७७ वटै जिल्लामा खिचिने
नयाँ पर्यटकीय सामाजिक हाँस्य टेलिचलचित्र ‘चार दुना नौं’ आउँदो बिहीबारबाट नेपाल टेलिभिजनमार्फत प्रसारण हुने भएको छ । नेपालको ७७ वटै जिल्लाको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ निर्माण गरिएको यस टेलिचलचित्र यहि पुस २३ गतेबाट प्रत्येक बिहीबार साँझ ७ बजे प्रसारण हुने बताइएको छ । टेलिचलचित्र ‘चार दुना नौं’ को निर्देशकमा छेडुप लामा छन् । उनका अनुसार, अहिलेसम्म जुम्ला र मुगुमा चार भाग र काभ्रे जिल्लामा चारभाग छायांकन भइरहेको छ ।

निर्माण टिमले जुम्ला र मुगुमा चार भाग खिच्नकै लागी १३ दिन खर्चिएको थियो । टेलिसिरियलका निर्देशक छेडुप लामा भन्छन्, ‘नेपालको पर्यटनलाई देशब्यापी बनाऔं भनेर हाम्रो तर्फबाट सोचेर यो टेलिचलचित्र निर्माण गरेका हौं ।’ यस टेलिचलचित्रको प्रत्येक भाग ३० मिनेटको हुनेछ । ३० मिनेटको एक भाग समेटिने यस टेलिचलचित्र प्रत्येक जिल्लामा ३ देखी ५ भाग सम्म छांयाकन हुने बताइएको छ ।
यस टेलिचलचित्रमा राजाराम पौडेल, रबिन्द्र झा, रेशम बुढाथोकी, रामबाबु रेग्मी, अजय रेग्मी, गोबिन्द सुनार, अस्मिता बस्नेत, सेबिता अधिकारी, संगम राई लगायतको अभिनय रहनेछ । प्रवेश पोखरेल र गोकुल रावतले खिचिरहनु भएको छ भने रबिन भट्ट र सौखिन तिमल्सिनाको सम्पादन रहनेछ । टेलिचलचित्रमा कर्मा डि लामा, गणेश तामाङ र कुइसाङ तामाङ रुम्बाको लगानी रहनेछ । कथा लेखक रेशम बुढाथोकी हुनुहुन्छ ।