बिहेको प्रश्नले हैरान आशिरमान
सहोदर दाई तथा अभिनेता आयुष्मान देशराज जोशीले गत वर्ष विवाह गरेपछि अहिले अभिनेता आशिरमान देशराज जोशीले मिडियाकर्मी र प्रशंसकबाट विवाहको प्रश्नको सामना गर्नुपरेको छ । सामाजिक सञ्जालमा समेत उनलाई प्रशंसकले विवाहको प्रश्न सोध्ने थालेका छन् । उमेरले २२ वर्षमा हिँडिरहेका उनी कुनै एक युवतीको प्रेममा भएपनि तत्काल विवाह गर्ने सोचमा छैनन् ।

बिहीवार इन्स्टाग्राममा एक प्रशंसकले विवाहको विषयमा गरेको प्रश्नको जवाफमा उनले लेखेका छन्, ‘यो प्रश्नले अहिले पनि मलाई एक्लै छाड्दैन ।’ केही समयदेखि विवाहको प्रश्नले आफूलाई एक्लै नछाडेको उनको भनाई छ । शहरीया युवापुस्तामा राम्रो क्रेज भएका उनले करीब २ वर्षदेखि कुनै चलचित्रमा काम गरेका छैनन् । पछिल्लो पटक उनी चलचित्र ‘द ब्रेकअप’ मा देखिएका थिए ।

उनको डेब्यू चलचित्र भने ‘ग्यांगस्टार ब्लूज’ हो । तर, दुवै चलचित्र बक्सअफिसमा नराम्रोसँग पिटिएपछि उनी नयाँ चलचित्रमा काम गर्न हतारिएका छैनन् । नेपाली चलचित्रमा प्रवेश गर्दैगर्दा उनलाई धेरैले अहिलेका हटकेक अभिनेता अनमोल केसीलाई टक्कर दिनसक्ने अभिनेताको रुपमा हेरेका थिए । तर, लगातार दुई चलचित्र असफल भएपछि उनको करिअर नै धरमराएको छ ।