‘छक्का पञ्जा ३’ लाई १७ दिनमै करोड भ्यूज
कोरोना महामारीको समयमा यूट्युबमा सार्वजनिक भएका प्रायः नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् । अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘ए मेरो हजुर ३’ ले यूट्युब रिलिजको १९ दिनमै एक करोड भ्यूज पाएको थियो । त्यस्तै, लकडाउनमा यूट्युब रिलिज भएका ‘साइँली, दाल भात तरकारी, जात्रै जात्रा, क्याप्टेन’ लगायतका चलचित्रले पनि छोटो समयमै लाखौं भ्यूज बटुले ।

यसबीच, दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको चलचित्र ‘छक्का पञ्जा ३’ ले यूट्युबमा रेकर्ड नै बनाएको छ । १७ दिनअघि यूट्युबमा सार्वजनिक भएको चलचित्रलाई एक करोडभन्दा बढी पटक हेरिएको छ । यति छोटो समयमा यूट्युबमा करोड भ्यूज पाउने यो नै पहिलो चलचित्र हो । यसअघि यो रेकर्ड झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ को नाममा थियो ।
दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईंलगायतको मुख्य भूमिका छ । नेपालको सामुदायिक विद्यालयमा हुने गरेको शैक्षिक बेथितिको कथा उठान गरेको चलचित्रले बक्सअफिसमा आक्रामक कमाई गरेको थियो । चलचित्रलाई यूट्युबमा सकारात्मक प्रतिक्रिया मिलेको छ । यतिबेला दीपक-दीपाको समुह यसको चौथो पार्टको तयारीमा छ ।
चलचित्र हेर्नुहोस् :-