सरकारले हल खोल्यो, तर सुनसान राजधानीका हल (फोटो फिचर सहित)



आइतवार मन्त्रिपरिषद्को बैठकले १० महिनादेखि बन्द रहेको सिनेमा हललाई सञ्चालनको अनुमति दिएको छ । तर, सरकारले सिनेमा हललाई सञ्चालनको अनुमति दिनुभन्दा अगाडि नै नेपाल चलचित्र संघले पुष १० गतेबाट एकतर्फी रुपमा हल खोल्ने घोषणा गरेको थियो । मन्त्रिपरिषद्को बैठकले सिनेमा हल खोल्न अनुमति दिएपछि भने हल सञ्चालकहरुले राहतको सास फेरेका छन् ।

तर, सिनेमा घरहरु सञ्चालनमा आएपनि दर्शक उपस्थिति उत्साहजनक छैन । एकातिर कोरोनाको भय र अर्कोतिर पुराना चलचित्र चलेका कारण पनि हलमा दर्शक आउन नसकेको हल सञ्चालकहरुको भनाई छ । नयाँ चलचित्र प्रदर्शन भएपछि सुनसान हल दर्शकले भरिनेमा उनीहरु विश्वस्त छन् । तर, तत्काल नयाँ चलचित्र प्रदर्शन गर्ने जोखिम उठाउन निर्माताहरु तयार देखिएका छैनन् ।

सोमवार ठूलोपर्दाको टिम राजधानीका मल्टीप्लेक्स र सिंगल हल अवलोकनको क्रममा पुग्दा प्रायः हल सुनसान देखिए । बानेश्वरस्थित वान सिनेमाज् हलमा शुक्रवारबाट नयाँ हलिउड चलचित्र ‘मन्स्टर हन्टर र द इन्भिजिवल म्यान’ प्रदर्शन भइरहेको छ । तर, दुवै चलचित्रमा दर्शक उपस्थिति न्यून छ । आइतवार १२ बजे ‘मन्स्टर हन्टर’ गर्ने दर्शक ६/७ जना मात्र थिए ।

वान सिनेमाजका सुपरभाइजर सुजित गुइरेलले अपेक्षा गरेअनुसार हलमा दर्शक उपस्थिति नभएको बताए । उनले भने- ‘हामीले व्यापार गर्नभन्दा पनि दर्शकलाई सिनेमा हलसम्म आउने वातावरण बनाउन हल खोलेका हौं । हल खोल्दै गर्दा जति अपेक्षा गरेका थियौं, त्यो अनुसार दर्शकको चाप छैन । तर, नयाँ चलचित्र प्रदर्शनमा आएको खण्डमा दर्शक आउँछन् भन्नेमा चाहिँ विश्वस्त छौं ।’

दिउँसो २ बजे चावहिलस्थित एफक्यूबमा हलिउड चलचित्र ‘मन्स्टर हन्टर’ हेर्ने दर्शक ६ जना थिए । शुक्रवार र शनिवार भने चलचित्र हेर्ने दर्शकको संख्या राम्रो रहेको हलको एडमिस्ट्रेसन हेर्दै आएका दुर्गा प्रसाद रिजालले बताए । उनी भन्छन्, ‘भोलीका दिनमा नयाँ चलचित्र प्रदर्शन भए दर्शक आउँछ भन्ने ‘मन्स्टर हन्टर’ ले देखाएको छ । दर्शकहरु अहिले नयाँ चलचित्र हेर्न खोजिरहेका छन् ।’

अहिले सिनेमा हल पूरै घाटामा चलिरहेको पनि उनले बताए । सिनेमा हल नचल्दाभन्दा चल्दा धेरै खर्च भइरहेको उनको भनाई छ । तीनवटा स्क्रिनमध्ये एफक्यूबले अहिले दुईवटा स्क्रिन मात्र सञ्चालनमा ल्याएको छ । कमलपोखरीमा रहेको बीग मूभिज पनि आइतवार दिउँसो सुनसान थियो । तीनवटा स्क्रिन रहेको यो सिनेमा हलमा ‘मन्स्टर हन्टर, आमा र सेन्टी भाइरस’ प्रदर्शनरत छन् ।

आइतबार दिउँसो ३ बजे कमलपोखरीमा नै रहेको कुमारी सिनेमा हल भने बन्द थियो । गेटमा नै ताला झुण्डिएको थियो । अहिले राजधानीमा रहेका क्यूएफएक्स चेनको छाँया सेन्टर, सिभिल मल र लबिम मलका सिनेमा हल मात्र सञ्चालनमा छन् । यसमा दुई हलिउड चलचित्र ‘मन्स्टर हन्टर र द इन्भिजिवल म्यान’ सँगै दुई नेपाली चलचित्र ‘आमा र सेन्टी भाइरस’ प्रदर्शन भइरहेका छन् ।

चावहिलस्थित गोपीकृष्ण मुभिज पुग्दा भने त्यहाँको दृश्य उराठलाग्दो देखियो । सातवटा स्क्रिन रहेको गोपीकृष्ण हल अहिले पूर्ण रुपमा भत्काइएको छ । अब यहाँ व्यापारिक उद्देश्यसहित कम्प्लेक्स निर्माण गरिँदैछ । कम्प्लेक्स निर्माण भएपछि माथिल्लो तल्लामा नयाँ स्वरुपमा सिनेमा हल खोल्ने तयारी गरिएको छ । यो हलबाट नेपाली निर्माताले राम्रो सेयर हात पार्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu