आँचल र उदिपलाई प्रश्न- दुईबाट तीन हुने कहिले ?
अभिनेत्री आँचल शर्मा र डा. उदिप श्रेष्ठ विवाह बन्धनमा बाँधिएको एक वर्ष हुन लागेको छ । गत वर्षको फागुन अन्तिममा विवाह गरेका उनीहरु अहिलेसम्म सार्वजनिक कार्यक्रममा खासै जान पाएका थिएनन् । विवाहको एक हप्तामा देश लकडाउन भएपछि उनीहरुले एकअर्कासँग नै बढी समय विताए । अहिले भने निमन्त्रणा आउने ठाउँमा उनीहरु साथमा नै पुग्न थालेका छन् ।

बिहीवार साँझ अभिनेत्री श्वेता खड्का र विजयन्द्र सिंह रावतको रिसेप्सन पार्टीमा आँचल श्रीमानको साथमा पुगेकी थिइन् । खरानी रंगको साडीमा उनी निकै सुन्दर देखिएकी थिइन् । हातमा फूलको बुकेट बोकेका उदिप भने कालो रंगको सुटमा ठाटिएका थिए । दुवैले मिडियामार्फत् श्वेता र विजयन्द्रलाई बैबाहिक जीवनको शुभकामना दिए भने जोडी निकै सुहाएको भन्दै प्रशंसा पनि गरे ।
विवाह बन्धनमा बाँधिएपछि यो जोडीले सन्तानको विषयमा आउने प्रश्नको सामना गरिरहेको छ । श्वेताको बिहे पार्टीमा पनि उनीहरुलाई एक पत्रकारले सोधिहाले- ‘अब दुईबाट तीन जना कहिले हुने ?’ आँचलले पनि जवाफ दिन समय लगाइनन् । उनले भनिन्, ‘तीन जना हुन त समय लाग्छ । पहिला ५/६ वटा पार्टी खाउँ यसरी नै ।’ उदिपले पनि आँचलको कुरामा मुन्टो हल्लाउँदै सहमति जनाए ।