पोखराबाट ‘डिसेम्बर फल्स’ को छायांकन सुरु
अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहने चलचित्र ‘डिसेम्बर फल्स’ को छायांकन सुरु भएको छ । आइतवार पोखराको बिन्दवासिनी मन्दिरमा शुभसाइन गरेपछि सोमवारबाट चलचित्रको दृश्य खिच्न थालिएको निर्माता लक्ष्मण रिजालले जानकारी दिए । सोमवार आर्यन र उपासनाले पहिलो सट दिए । पोखरापछि निर्माण टिम मुस्ताङ जाने तयारीमा छ ।

काठमाडौंमा पनि खिचिने चलचित्रमा सलोन बस्नेत, शिवहरी पौडेल, दयाराम दाहाल, नरेश भट्टराई लगायतको पनि अभिनय रहनेछ । राम प्रसाद रिजालको प्रस्तुतीमा राज कुमार भट्ट निर्माता रहेको चलचित्रको पटकथा तथा संवाद केदार भुषाल तयार पारेका हुन् । रोमान्टिक थ्रिलर जनरामा निर्माण हुने चलचित्रको निर्देशन प्रबिन झाले गरिरहेका छन् । चलचित्रका छायाँकार महेश आर गुप्ता हुन् ।
विपिका खनालको कथा रहेको चलचित्रमा विरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका घटना तथा समस्यालाई देखाइने बताइएको छ । चलचित्रमा नायक र नायिकाबीचको उमेर अन्तरको कुरा पनि उठाइएको निर्माता रिजालले बताए । चलचित्रका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत भरेका छन् । अर्को वर्ष (२०७८) को साउन १ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएको छ ।