शिवलाई करिश्माले भनिन्, ‘दोष दिएर महत्त्वपूर्ण बनाउन चाहन्नँ’



‘मनकामना, ट्रक ड्राइभर, आर्शिवाद’ जस्ता एकसेएक चलचित्रमा काम गरेका अभिनेता शिव श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरबीच करिअरको उत्कर्षमा रहँदादेखि नै एकअर्कासँग राम्रो सम्बन्ध थियो । उनीहरुमा एकअर्काप्रति सधैं आदर र सम्मान देखिन्थ्यो । तर, अहिले उनीहरुको सम्बन्धमा त्तिक्तता आएको छ । यही माघ १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ ले उनीहरुको मित्रतामा फाटो ल्याएको हो ।

यो चलचित्रबाट करिश्माकी छोरी कविता र शिवका छोरा शक्तिले अभिनयमा डेब्यू गरेका छन् । छायांकनको क्रममा स्क्रिप्ट हेरफेर गरेर उनीहरुलाई चलचित्रमा प्रवेश गराइएको थियो । घोषणाको समयमा गरिएको तामझाम हेर्दा धेरैलाई चलचित्र राम्रो बन्ने अपेक्षा थियो । तर, जुन चिजमा बढी अपेक्षा हुन्छ, त्यसबाट निराशा भोग्नुपर्छ भनेझैँ यो चलचित्रले पनि आशालाई निराशामा बदल्यो ।

चलचित्र प्रदर्शनमा त आयो तर सिनेमा हलसम्म दर्शक आएनन् । पहिलो दिनबाटै दर्शकको खडेरी भोगेको चलचित्रले दर्शकलाई सिनेमा हलमा १० मिनेट पनि बाँध्न सकेको छैन । समीक्षकले शिव श्रेष्ठको करिअरकै सबैभन्दा कमजोर चलचित्र भनेका छन् । निर्माताबीचको मनमुटावले यो चलचित्र निर्माणकै क्रममा रोकिएको थियो । यसपछि थन्किएको चलचित्र पूरा छायांकनै नभइ प्रदर्शन गरिएको हो ।

करिश्माकी छोरी र शिवका छोरीले अभिनयमा डेब्यू गरेका कारण दर्शक, मिडियाकर्मी र चलचित्रकर्मीलाई ‘एउटा यस्तो प्रेम कहानी’ प्रति ठूलो आश र अपेक्षा थियो । तर, चलचित्र औसतभन्दा पनि कमजोर बन्दा कविता र शक्तिलाई पहिलो गाँसमै ढुंगा लागेको छ । चलचित्र हेर्ने कसैले पनि उनीहरुको अभिनयको प्रशंसा गरेका छैनन् । जसले गर्दा उनीहरुको करिअर संकटमा परेको छ ।

करिश्माले अभिनेता श्रेष्ठलाई यो चलचित्र प्रदर्शन नगर्न सुझाव समेत दिएको स्रोत बताउँछ । कविताको सिन घटाएको भन्दै उनी शिवसँग रुष्ट पनि थिइन् । यही कारण उनले छोरीलाई चलचित्रको प्रचार-प्रचारमा हिँड्न समेत दिइनन् । करिश्माले अहिलेसम्म छोरीको डेब्यू चलचित्र हलमा गएर हेरेकी पनि छैनन् । यो चलचित्रले गर्दा शिव र करिश्माको वर्षौदेखिको मित्रतामा फाटो आएको छ ।

बुधवार साँझ करिश्माले आफ्नो फेसबुकमा लेखेको एउटा स्टाटसले पनि शिव श्रेष्ठसँँग उनको पानी बाराबारको सम्बन्ध भएको पुष्टि गर्छ । छोरीले अभिनय गरेको चलचित्रको शीर्ष गीत शेयर गर्दै उनले घमाउरो शैलीमा शिवप्रति कटाक्ष गर्दै लेखेकी छन्, ‘अरुलाई दोष दिएर महत्त्वपूर्ण बनाउन चाहन्नँ । तर, बच्चा त राम्रो थियो ।’ उनको यो कटाक्ष शिव श्रेष्ठप्रति रहेको अनुमान लगाउन गाह्रो पर्दैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu