‘तिम्रो मेरो साथ’ को छायांकनमा पुष्प र साम्राज्ञीलाई बडिगार्ड
काठमाडौंमा छायांकन भइरहेको चलचित्र ‘तिम्रो मेरो साथ’ को निर्माण टिमले सुटिङ सेटमा अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी आरएल शाह र कलाकार सन्दिप क्षेत्रीलाई बडिगार्डको व्यवस्था गरेको छ । उनीहरुको लोकप्रियतालाई मध्यनजर गरेर चलचित्रको आउटडोर छायांकन प्रभावित नहोस् भन्ने हेतुले बडिगार्डको व्यवस्था गरिएको निर्देशक रमेश एमके पौडेलले बताए ।

पुष्प, साम्राज्ञी र सन्दिपको युवापुस्तामाझ जबरजस्त फ्यान फलोइंग भएका कारण आउटडोर छायांकनमा दर्शकको भीडभाड हुने भएकाले बडिगार्डको व्यवस्था गर्नुपरेको उनको भनाई छ । यो चलचित्रको ६० प्रतिशत छायांकन पूरा भइसकेको छ । अब केही दृश्य र गीतको छायांकन मात्र बाँकी रहेको निर्देशक पौडेलले जानकारी दिए । उनले यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्दैछन् ।
आर्यन फिल्मस् तथा वोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भइरहेको चलचित्रको पटकथा तथा संवाद सविर श्रेष्ठले तयार पारेका हुन् । यस चलचित्रमा सरोज खनाल, खबपु, इमिली लामा, ध्रुव दत्तको पनि मुख्य भूमिका छ । चलचित्रका निर्मातामा पासांग लामा र सह-निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली छन् । चलचित्रका गीतमा योगेश काजीको संगीत रहनेछ ।