‘आई एम ट्वान्टी वान’ को छायांकन सकियो
निर्माण घोषणाको २ वर्षपछि यसपालीको दशैंको घटस्थापनाबाट सुरु भएको अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ अभिनीत चलचित्र ‘आई एम ट्वान्टी वान’ को छायांकन सकिएको छ । क्यामेरा ‘अन’ भएको ५५ दिनमा चलचित्रको छायांकन सकिएको हो । काठमाडौं, धरान, ललितपुर लगायतका स्थानमा छायांकन भएको चलचित्रलाई रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन् ।

निर्देशक राईका अनुसार, अब चलचित्रको एक गीत खिच्न बाँकी छ । अन्य दृश्यको छायांकन भने बिहीवारबाट सकिएको उनले जानकारी दिइन् । नृत्यको कथामा आधारित भएर निर्माण भएको चलचित्रलाई प्रज्ज्वल शमशेशर जबराले निर्माण गरेका हुन् । उनी, निर्देशक राईका श्रीमान समेत हुन् । आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई सुशन प्रजापतिले खिचेका हुन् ।
चलचित्रमा वाइल्ड रिभर्स क्रूको कोरियोग्राफी रहेको छ भने रोहित शाक्यले गीतमा संगीत भरेका छन् । यो चलचित्रका लागि धिरज र जसिताले एक वर्षसम्म नृत्यको तालिम लिएका थिए । यस चलचित्रबाट १२ जना नयाँ अनुहारले डेब्यू गर्न लागेको निर्देशक रेनशाले बताइन् । उनले ‘आई एम ट्वान्टी वान’ नेपाली चलचित्र क्षेत्रका लागि नयाँ कोशेली हुने विश्वास व्यक्त गरेकी छन् ।