सुन्दरता अनुहारमा हुँदैन र शरीरमा खोजेर पनि हुँदैन : सञ्चिता लुईंटेल



जनकपुर साहित्य महोत्सवको दोस्रो दिनको तेस्रो सेसन ‘समाज : सौन्दर्य भित्र र सौन्दर्य बाहिर’ मा वक्ताको रुपमा उपस्थित भएकी अभिनेत्री सञ्चिता लुईंटेल गम्भीर र भावुक मुद्रामा देखिएकी थिइन् । कार्यक्रम सुरु हुनुभन्दा अगाडि श्रीमानबाट एसिड आक्रमणमा परेर आधा शरीर जलेकी र दाहिने आँखा गुमाएकी आरती साहको पीडा सुन्दा उनी स्तब्ध भएकी थिइन् ।

३ वर्षकी छोरी च्यापेर स्टेज चढेकी आरतीले एसिड प्रहार हुनुभन्दा पहिलाको तस्विर देखाउँदै ‘यो आरती मरिसक्यो, म नयाँ आरती हो र अब यो फोटोमा माला चढाएर राख्छु’ भन्दा सञ्चिता अवाक भइन् । उनको यो आत्मविश्वास देखेपछि सञ्चिताले भनिन्, ‘अनुहारमा कुरुपता होला । कुरुप बनाइएका सुन्दरता होलान् । तर असली सुन्दरता भित्र हुन्छ । जुन महसुस मात्रै गर्न सकिन्छ ।’

समाजले स्त्रीको चरित्र दैव नजाने भन्ने गरेको तर पुरुषको चरित्र कसले जान्ने ? भनेर पनि उनले प्रश्न गरेकी छन् । महिला र पुरुष दुईथरका पांग्रा भन्ने गरिएको भए पनि त्यो शब्दमा मात्र सीमित रहेको उनको कथन छ । ‘एउटा रथ सरर गुड्ने, अर्को रथ चाहिँ धकेल्दै गुडाउनु पर्ने यो समाजमा ? अब यो विषयमा पनि आवाज उठाएनौं भने हामी धेरै पछाडि रहन्छौं,’ सञ्चिताले भनिन् ।

आरतीको तीन वर्षे छोरीसँग गरेको कुराकानी सुनाउँदै उनले थपिन्, ‘मेरो घरमा पनि छोरी छ । मैले आरतीको छोरीलाई तिमी र तिम्रो ममीलाई पीडा दिने व्यक्तिलाई के गर्न चाहन्छौ भनेर सोध्दा ‘काटिदिन्छु’ भनिन् । एउटा तीन वर्षको बच्चाले आफ्नो पिताको नाम लिएर ‘काटिदिन्छु’ भन्दैछ भने सोच्नुस् हाम्रो समाज कता गइरहेको छ ? अबका बच्चाले आफ्ना पितालाई कुन रुपमा हेर्ने ?’

एसिड आक्रमणबाट जलेका शरीर र आला घाउहरु देख्दा आफ्नो मन भतभति पोल्ने गरेको उनी सुनाउँछिन् । सुन्दरता अनुहारलाई मान्ने मान्छेको सोंच रहेको पनि उनले बताइन् । उनी भन्छिन्, ‘सुन्दरता अनुहारमा हुँदैन र शरीरमा खोजेर पनि हुँदैन । सुन्दरता कहाँ अनुहार हो र ? त्यो त मान्छेको सोंच र हेर्ने नजरिया हो । मानिसको सुन्दरता लुकेको हुन्छ, जुन बाहिर देखिँदैन ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu