शैक्षिक संस्थाको ब्रान्ड एम्बेसडर हुनु जिम्मेवारीपूर्ण काम : उपासना



चलचित्र ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उपासना सिंह ठकुरीको नेपाली चलचित्रमा व्यस्तता बढ्दो छ । दोस्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को सफलतापछि उनलाई चलचित्रमा लिन निर्माताबीच हानाथाप भइरहेको छ । अध्ययनका कारण डेढ वर्ष कुनै चलचित्रमा आबद्ध नभएकी उनले लकडाउनपछि ‘डिसेम्बर फल्स’ साइन गरिन्, जसको अहिले छायांकन भइरहेको छ ।

उपसनाको चुलिँदो लोकप्रियता देखेर विभिन्न संस्थाहरुले आफ्नो उत्पादनको प्रवद्र्धनका लागि ब्रान्ड एम्बसेडरको प्रस्ताव पनि गरिरहेका छन् । यसैक्रममा, उनी पहिलो पटक शैक्षिक संस्था एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्रान्ड एम्बसेडरमा नियुक्त भइन् । यो संस्थाले अमेरिका, अष्ट्रेलिया, डेनमार्क, क्यानडा लगायतका देशमा अध्ययनका लागि विद्यार्थी पठाउने गरेको छ ।

यो संस्थाको नयाँ वानेश्वरमा खुलेको नयाँ शाखाको बुधवार अभिनेत्री ठकुरीले उद्घाटन गरिन् । उपासनासहित मिस सुप्रा नेशनल २०२० र मिस ग्राण्ड नेपाल २०२० निशा पाठकले संयुक्त रुपमा एजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखाको उद्घाटन गरेका हुन् । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको यस संस्थाका काठमाडौंसहित विभिन्न शहरहरूमा शाखा रहेका छन् ।

शिक्षा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएको संस्थासँग आबद्ध हुन पाएकोमा उपासनाले खुसी व्यक्त गरेकी छन् । शैक्षिक संस्थाको ब्रान्ड एम्बसेडर हुनु जिम्मेवारीपूर्ण काम रहेको बताउँदै उनले भनिन्, ‘अहिलेको समयमा धेरै युवाहरु अध्ययनका लागि विदेश जान चाहिरहेका हुन्छन् । यसकारण कुनै पनि शैक्षिक संस्थाको ब्रान्ड एम्बेसडर हुनु जिम्मेवारीपूर्ण काम हो जस्तो लाग्छ ।’

कुनै पनि संस्था वा प्रोडक्टको ब्रान्ड एम्बसेडर हुनुभन्दा अगाडि त्यो कति भरपर्दो छ भनेर आफूले गम्भीर रुपमा हेर्ने गरेको उनले बताएकी छन् । उनी अगाडि भन्छिन्, ‘हामी जुन प्रोडक्ट वा संस्थासँग जोडिन्छौं त्यसप्रति धेरैको चासो हुन्छ । यसकारण ब्रान्ड एम्बसेडर बन्दै गर्दा त्यो प्रोडक्ट वा संस्था कति भरपर्दा छ भनेर हेर्छु । राम्रो लाग्यो भने छनोट गर्छु नभए ब्रान्ड एम्बसेडर बन्दिनँ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu