पुष्पले किने ७० लाखको गाडी, भन्छन्, ‘मिहिनेत गरे सोचेको पुग्छ’



म्यूजिक भिडियोबाट आफ्नो करिअर सुरु गरेका अभिनेता पुष्प खड्काको अहिले नेपाली चलचित्रमा राम्रो माग छ । लामो समय म्यूजिक भिडियोमा काम गरेपछि उनले चलचित्र ‘अझै पनि’ मा सहायक अभिनेताको रुपमा काम गर्ने अवसर पाएका थिए । उनले मुख्य नायकको रुपमा काम गरेको चलचित्र भने ‘दर्पण छायाँ २’ हो । तर, यी दुवै चलचित्र बक्सअफिसमा असफल भए ।

चलचित्र ‘मंगलम’ ले उनको भाग्य बदलेको थियो । अहिले उनलाई चलचित्रको कमी छैन । पारिश्रमिक पनि आकर्षक बुझिरहेका छन् । म्यूजिक भिडियोमा पनि उनको माग लोभलाग्दो छ । चलचित्र र म्यूजिक भिडियोमा काम गरेरै कैलालीमा पक्की घर बनाएका पुष्पले सोमवार करीब ७० लाखको गाडी खरिद गरेका छन् । उनले हुन्डाइको क्रेटा गाडी आफ्नो घर भित्राएका हुन् ।

घर र गाडी जोडिसकेका उनी आफूले देखेका केही सपना पूरा हुँदै गएको बताउँछन् । तर, सम्पत्ति जोड्नु आफ्नो कहिल्यै ठूलो सपना नरहेको उनको भनाई छ । उनी भन्छन्, ‘यो भनेको आफ्नो आवश्यकता अनुसार जोड्दै जाने कुरा हो । तर, मेरो सधैं राम्रो कलाकार बन्ने नै सपना थियो र सधैंभरी रहिरहनेछ ।’ मनोरञ्जन दुनियाँमा लागेर जीवन चलाउन दुःख नहुने उनको अनुभव छ ।

पहिलो म्यूजिक भिडियोमा तीन हजार पारिश्रमिक पाउँदाको क्षण सम्झँदै उनी भन्छन्, ‘पहिलो म्यूजिक भिडियोमा काम गरेबापत पाएको पारिश्रमिकबाटै मलाई अभिनयमा लागेर जीवन चलाउन सकिन्छ भन्ने लागेको थियो । मैले संघर्षको समयदेखि आजसम्म आमा बुबासँग पैसा मागेको छैन । मिहिनेत र आफूमा विश्वास गर्ने हो भने अभिनयमा लागेर सोचेका कुरा पूरा गर्न गाह्रो हुन्न ।’

निषेधाज्ञाभन्दा अगाडि उनी अभिनीत चलचित्र ‘कृष्ण लीला र मनसँग मन’ प्रदर्शनको मुखमा थियो । तर, कोरोनाले दुवै चलचित्रको रिलिज रोकियो । उनी अभिनीत चलचित्र ‘तिम्रो मेरो साथ’ पनि प्रदर्शनको पखाईमा छ । निषेधाज्ञा खुकुलो भएपछि पुष्प अहिले म्यूजिक भिडियोमा व्यस्त छन् । स्थिति सामान्य भएपछि उनी निर्देशक मुकुन्द भट्टको नयाँ चलचित्रमा काम गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu