अब परिवारभन्दा विल्कुलै फरक चलचित्र बनाउँछु : नवल नेपाल



नेपाली चलचित्रका सफल निर्देशक नवल नेपाल नारी संवेदनामाथि चलचित्र बनाउन सिपालु मानिन्छन् । ‘श्रीमान, मंगलम, मारुनी’ चलचित्रमा उनको निर्देशकिय क्षमताको निकै प्रशंसा भएको थियो । तर, उनलाई आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कन नखोजेको आरोप लाग्ने गरेको छ । यो यथार्थ पनि हो, उनले अहिलेसम्म फरक जनराका चलचित्रको निर्देशन गर्ने चुनौती मोलेका छैनन् ।

लकडाउनपछि ‘दिल चुप छ’ नामक वेब सिरिजको निर्देशन गरेका उनले यसमा पनि पारिवारिक विषयवस्तुलाई नै उठाएका छन् । परिवार र समाजभित्रका साना-मसिना घटनालाई पर्दामा उतार्दा दर्शकको मन नजिक पुग्न सकिन्छ भन्ने उनको अनुभव र बुझाई छ । चलचित्र र सिरिज बनाउँदा त्यो कुन दर्शक वा कुन तप्काको नजरमा पर्छ भनेर निर्देशक गहन अध्ययन गर्नुपर्ने उनी बताउँछन् ।

निर्देशक नेपाल भन्छन्, ‘कोरोना महामारीपछि विश्वव्यापी रुपमा विभिन्न चलचित्र तथा सिरिजहरु आइरहेका छन् । त्यसका स्वाद लिइरहेका मानिसभन्दा पनि आम मानिसलाई सम्बोधन गरोस् र आम मानिसको नजरमा जाओस् भन्ने लोभ हामीमा हुन्छ । हाम्रो समाज वा परिवारभित्र हुने मसिना घटनाक्रमलाई उठाउँदा आम मानिसको मन नजिक पुग्न सकिन्छ कि भन्ने लोभ हुने रहेछ ।’

अब आफूले बनाउने चलचित्र परिवारभन्दा विल्कुलै भिन्न हुने उनको दाबी छ । चलचित्र बनाउने वातावरण बनेपछि कोरोना महामारीले तयार भएको मानिसको मनोविज्ञानलाई सम्बोधन हुने गरी चलचित्र बनाउने उनले बताए । उनी भन्छन्, ‘म आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कन कोशिश गरिरहेको छु र निस्कनु पनि पर्छ । किनकि, मलाई जे मन पर्छ अरुलाई पनि त्यही मनपर्छ भन्ने छैन ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu