‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान’ केपि ओलीको घरमा



काठमाडौं। नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाड पर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा लड्नका लागि गठन भएको ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान २०७८’ को टोलीले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको छ । बुधवार अध्यक्ष ओलीकै निवासमा पुगेर नेपालमा भएको कला, संस्कृति अतिक्रमणको बिषयमा ध्यानाकर्षण गराएको महाअभियानका संयोजक मोहन निरौलाले जानकारी दिए ।

केपी शर्मा ओलीलाई देशमा बढ्दै गइरहेको सांस्कृतिक अतिक्रमण र विकृतिबारे जानकारी गराएको बताउँदै महाअभियानका सदस्य मनोज भेटवालले अध्यक्ष ओलीले यो महाअभियानमा आफू र आफ्नो पार्टीको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको बताए । भेटमा महाअभियानको प्रतिनिधि मण्डलले ओलीलाई महाअभियानको प्रतिक स्वरूप नेपालको विविध संस्कृति र सम्पदा अंकित छायाँ चित्र र महाअभियानको कार्यक्रम पुस्तिका प्रदान गरेको थियो ।

चलचित्रकर्मी तथा महाअभियानका संयोजक मोहन निरौलाले पूर्व प्रधानमन्त्री ओलीलाई महाअभियानको तर्फबाट ध्यानाकर्षण पत्र बुझाएका थिए । सोही अवसरमा नेपालको संस्कृति झल्कने प्रतिकात्मक छांया चित्र पनि पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाअभियानका अभियन्ताले हस्तान्तरण गरेका थिए । ध्यानाकर्षण पत्रमा नेपालमा बढदै गैरहेको सबै धर्म संम्प्रदायको धर्मान्तरणले नेपालको संस्कृति विस्थापित हुने खतरा बढेको र देशको पहिचान नै मासिने अबस्थामा पुगेकोले यसतर्फ सबै नागरिक र जिम्बेवार पक्षकों ध्यान दिनु पर्ने कुरा बिशेष रूपमा औल्याईएको छ । यसैगरी बिदेशी चलचित्रको निर्वाध प्रदर्शनबाट एकातिर नेपाली चलचित्र बिस्थापित हुने खतरा बढेको र बिदेशी चलचित्रको कारणबाट नेपाली भाषा कला संस्कृतिमा गम्भीर असर परिरहेकोछ कुरा पनि उल्लेख गरिएको छ ।

महाअभियानका संयोजक मोहन निरौला, सदस्य सचिव ठण्ड बहादुर अधिकारी, प्रवक्ता बिश्वमणि घिमिरे, सदस्य मनोज भेटवाल, मुकुन्द मैनाली, सुन्दर श्रेष्ठ, अभियान्ताहरु जुना श्रेष्ठ, लक्ष्मी भट्टराई, सुधा कार्की, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, हाँस्य कलाकार उतम केसी, सुरज ढकाल, उपेश कोइराला र सुमन श्रेष्ठ, महाअभियान बागमती प्रदेशका संयोजक हरिकृष्ण श्रेष्ठले केपी शर्मा ओलीसँग भेट गरेका हुन् ।

‘देशका पुरातात्विक सम्पदा एवं सस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्नका लागि राज्यको तर्फबाट विशेष चासो र पहल हुनुपर्ने माग हामीले पूर्व प्रधामन्त्री ओलीसँग गरेका छौ’, महाअभियानका सदस्य सचीव ठण्ड बहादुर अधिकारीले भने, ‘कुनै पनि देशको सम्पदा र संस्कृतिसँग देशको पहिचान जोडिएको हुने हुनाले देशको अस्तित्व र गरिमालाई बचाइ राख्नका लागि संस्कृति जीवन्त रहनुपर्ने अभियानको मुल उद्देश्य छ ।’

‘नेपाली संस्कृति बचाऔं महाअभियान २०७८’ को शुभारम्भ २०७८ मंसिर २६ गते एक समारोहका बीच भएको थियो । गठन भएयता महाअभियानले हप्तामा एकपटक विभिन्न स्थानमा पुगेर जनचेतना फैलाउनुका साथै गत हप्ता प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर महाअभियानको उद्देश्यबारे जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu