अभिनेत्री दीया पुनले सगरमाथा चढ्ने



अभिनेत्री दीया पुनले सगरमाथाको आरोहण गर्ने भएकी छन् । उनले व्यक्तिगत खर्चमा आउँदो अप्रिल महिनामा सगरमाथाको आरोहण गर्न लागेकी हुन् । बेलायतको कोलचेष्टर अस्पतालमा लामो समयदेखि नर्सका रुपमा कार्यरत उनले आफ्नो व्यक्तिगत सौख पूरा गर्न भन्दा पनि नर्सहरुको मनोवल बढाउनका लागि आफूले सगरमाथाको आरोहण गर्न लागेको बताएकी छन् ।

यसअघि उनले ८ हजार १ सय ६३ मिटर संसारको आठौं अग्लो मनास्लु हिमाल चढिसकेकी छन् । पुनले सन् २०१८ अर्जेन्टिनाको ६ हजार ९ सय ६१ मिटर अग्लो माउन्ट अकोनकागुवाको पनि आरोहण गरेकी थिइन् । कोरोना महामारीका कारण रसियास्थित सबैभन्दा अग्लो हिमाल इल्ब्रस र अफ्रिकास्थित सबैभन्दा अग्लो माउन्ट किलिमञ्जारो चढ्ने उनको योजना भने पूरा हुन सकेन ।

सगरमाथा आरोहणमार्फत् बेलायतमा अवस्थित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, कोलचेष्टर अस्पताल च्यारिटी र नेपालस्थित चिल्ड्रेन एण्ड युथ फर्स्टलाई आर्थिक सहयोग संकलन गर्ने उनको उद्देश्य रहेको छ । मिलन चाम्स निर्देशित चलचित्र ‘वीर विक्रम’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी दीयाले ‘ह्याप्पी डेज’, ‘मिस्टर झोले’, ‘दयारानी’, ‘मन्त्र’ चलचित्रमा अभिनय गरेकी छन् ।

उनी अभिनीत चलचित्र ‘मन्त्र’ यही माघ २८ गतेबाट प्रदर्शनमा आउँदैछ । उनी यो चलचित्रको प्रचार-प्रसारका लागि नेपाल आउने तयारीमा छन् । खिल बहादुर गुरुङ निर्देशित चलचित्रमा सौगात मल्ल, नमिता घिसिङ, बिर बहादुर लामा, पासाङ टि शेर्पाको पनि अभिनय रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको चलचित्रमा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu